‘कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलन : विगत, वर्तमान र भविष्य’ आज सार्वजनिक हुँदै

  • नमस्ते कर्णाली

  • काठमाडौं । कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनको इतिहास, वर्तमान अवस्था र भावी दिशाबारे अध्ययन तथा विश्लेषण गरिएको पुस्तक ‘कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलन : विगत, वर्तमान र भविष्य’ आज काठमाडौंमा लोकार्पण हुँदैछ।
    लेखक गोरखबहादुर बोगटीद्वारा लिखित उक्त पुस्तकको लोकार्पण नेपाली कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले गर्ने भएका छन्। संक्षिप्त समारोहबीच आज २१ गते दिउँसो २ बजे पुस्तक लोकार्पण गर्ने कार्यक्रम तय गरिएको लेखक बोगटीले नमस्ते कर्णाली दैनिक लाइ जानकारी दिनु भयाे ।
    लोकार्पण समारोहमा नेपाली कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेल प्रमुख अतिथि तथा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य शक्तिबहादुर बस्नेत विशेष अतिथिका रूपमा सहभागी हुनु हुने छ ।
    कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलनको विकासक्रम, राजनीतिक संघर्ष, सामाजिक तथा भौगोलिक परिवेश, आन्दोलनका उपलब्धि, वर्तमान चुनौती र भविष्यका सम्भावनालाई पुस्तकमा समेटिएको लेखक बोगटीले बताउनु भयाे ।
    पुस्तकमा कर्णालीको कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित विभिन्न कालखण्ड र त्यसक्रममा विकसित राजनीतिक घटनाक्रमलाई समेट्दै आन्दोलनको विगतदेखि वर्तमानसम्मको अवस्थाको समीक्षा गरिएको छ। साथै कर्णालीको सामाजिक संरचना, भूगोल, जनजीवन र राजनीतिक चेतनाको विकाससँग कम्युनिष्ट आन्दोलनको सम्बन्धलाई समेत पुस्तकले प्रस्तुत गर्ने प्रयास गरेको छ।
    पुस्तकको आवरणमा उल्लेख भएअनुसार लेखक बोगटीले यसअघि ‘श्रीनगरदेखि बल्खुसम्म’, ‘कर्णालीमा कम्युनिष्ट आन्दोलन’, ‘कर्णाली प्रदेश (विगत, वर्तमान र समृद्धिका सम्भावनाहरू)’, ‘कर्णालीमा पर्यटन विकासका सम्भावना र अवसरहरू’, ‘समकालीन विचारहरू’ लगायतका कृति प्रकाशित गरिसकेका छन्।
    हुम्लाको अदानचुली गाउँपालिका–२ स्थायी ठेगाना भएका बोगटीले ग्रामीण विकास विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएकाे छ । उहाँ पूर्वस्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्जका रूपमा समेत राजनीतिक जिम्मेवारी सम्हालिसकेका र हाल केन्द्रीय सामाजिक सेवा विभाग प्रमुखका रूपमा कार्यरत रहेको पुस्तकको लेखक परिचयमा उल्लेख छ।
    कर्णालीको राजनीतिक इतिहासको दस्तावेज बन्ने अपेक्षा
    कर्णालीमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ, विस्तार र प्रभावका विभिन्न पक्षलाई एउटै कृतिमा समेट्ने प्रयास भएकाले पुस्तकलाई कर्णालीको राजनीतिक इतिहास अध्ययनका लागि महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।
    कर्णाली प्रदेशको राजनीतिक तथा सामाजिक रूपान्तरणमा कम्युनिष्ट आन्दोलनले खेलेको भूमिकाका साथै आगामी दिनमा आन्दोलनले लिनुपर्ने दिशा, सम्भावना र चुनौतीबारे समेत पुस्तकले बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
    लेखक बोगटीका अनुसार पुस्तक तयार गर्नुको मुख्य उद्देश्य कर्णालीको कम्युनिष्ट आन्दोलनका विभिन्न पक्षलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु र नयाँ पुस्तालाई त्यसको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनु हो।
    ‘कर्णाली प्रदेशको कम्युनिष्ट आन्दोलन : विगत, वर्तमान र भविष्य’ पुस्तकको लोकार्पणसँगै कर्णालीको राजनीतिक इतिहास, कम्युनिष्ट आन्दोलन र त्यसको भावी दिशाबारे थप अध्ययन तथा बहसका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ।

  • २१ आश्विन २०८३, बुधबार ०६:४३ प्रकाशित

  • Nabintech