समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा, कोहलपुरमा निःशुल्क अर्थोपेडिक तथा दन्त शिविर

  • नमस्ते कर्णाली

  • बाँके,२३ असोज ।

    सामान्य स्वास्थ्य समस्याका लागि समेत अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम गर्दै समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले बाँकेको कोहलपुरमा निःशुल्क अर्थोपेडिक तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कौशल्या मेमोरियल अस्पतालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा कोहलपुर नगरपालिका–१४ मा आयोजित शिविरमा एक सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण, उपचार तथा विशेषज्ञ चिकित्सकीय परामर्श सेवा लिएका छन्।
    शिविरमा अर्थोपेडिक सर्जन डा. घनश्याम चापागाईं, दन्त चिकित्सक डा. सुरक्षा योगीलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श दिएको थियो।
    विशेषगरी हाडजोर्नी तथा मांसपेशीसम्बन्धी समस्या, ढाड तथा कम्मर दुख्ने, जोर्नी दुख्नेलगायत समस्या भएका बिरामीले अर्थोपेडिक विशेषज्ञसँग प्रत्यक्ष परामर्श लिएका थिए। त्यसैगरी दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी समस्या भएका स्थानीयले दन्त चिकित्सकबाट परीक्षण तथा आवश्यक उपचारसम्बन्धी सुझाव लिएका थिए।
    स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य परीक्षण तथा परामर्शका लागि टाढाको अस्पताल धाउनुपर्ने बाध्यता कम भएको स्थानीयले बताएका छन्। आर्थिक तथा भौगोलिक कारणले नियमित रूपमा विशेषज्ञ सेवा लिन नसक्ने नागरिकका लागि यस्ता शिविर उपयोगी हुने अस्पतालले जनाएको छ।
    कौशल्या मेमोरियल अस्पतालले कोहलपुर नगरपालिकाका पाँचवटा वडालाई लक्षित गरी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ। अस्पतालका अनुसार समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य समस्या समयमै पहिचान गर्ने र आवश्यक उपचार तथा परामर्शका लागि सहजीकरण गर्ने उद्देश्यले शिविरलाई निरन्तरता दिइएको हो।
    अस्पतालले स्वास्थ्य समस्या जटिल भएपछि मात्र अस्पताल पुग्ने प्रवृत्तिलाई कम गर्न समयमै स्वास्थ्य परीक्षण गराउने बानी विकास गर्नसमेत यस्ता शिविरले सहयोग पुग्ने जनाएको छ। विशेषगरी हाडजोर्नी, दाँत तथा मुखको समस्या सुरुआती चरणमै पहिचान भएमा आवश्यक उपचार तथा सावधानी अपनाउन सहज हुने चिकित्सकहरूले बताएका छन्।
    शिविर सञ्चालन तथा व्यवस्थापनमा स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको समेत महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ। शिविर सफल बनाउन सहयोग गरेको भन्दै अस्पतालले स्वास्थ्य चौकीका इन्चार्ज सुदीप देवकोटासहित सम्पूर्ण स्वास्थ्यकर्मी तथा सहयोगी टोलीप्रति धन्यवाद व्यक्त गरेको छ।
    समुदायमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने यस्ता अभियानले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउनुका साथै सामान्य स्वास्थ्य समस्याका लागि समेत टाढा जानुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ। साथै, समयमै स्वास्थ्य परीक्षण, रोगको पहिचान र चिकित्सकीय परामर्श लिन नागरिकलाई प्रोत्साहित गर्ने भएकाले यस्ता शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

  • २३ आश्विन २०८३, शुक्रबार १६:३३ प्रकाशित

  • Nabintech