बर्दिया,२५ असोज ।
बाल अधिकार संरक्षण, बालबालिकाको व्यक्तिगत सुरक्षा तथा विद्यालयमा सुरक्षित र बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले बर्दियाको राजापुर नगरपालिकाका दुई विद्यालयमा संयुक्त अनुगमन गरिएको छ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत राजापुर नगरपालिका–१० स्थित जनचेतना माध्यमिक विद्यालय र वडा नं. ८ स्थित भेरी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेका कार्यक्रमको प्रगति, उपलब्धि तथा प्रभावकारिताबारे जानकारी लिन अनुगमन गरिएको हो।

अनुगमन टोलीमा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, वडा नं. ५, ८ र १० का वडाध्यक्षहरू, महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरी, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, परियोजना संयोजक ईश्वर बिक तथा क्षेत्रीय पर्यवेक्षक प्रमिशा थारुलगायत सहभागी हुनुहुन्थ्यो। अनुगमन कार्यक्रमको सहजीकरण परियोजना संयोजक बिकले गर्नुभएको थियो।
अनुगमनका क्रममा जनचेतना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गरी परियोजनाअन्तर्गत सञ्चालन भइरहेका गतिविधिको अवस्था र तिनले पारेको प्रभावबारे जानकारी लिइएको थियो। छलफलमा ‘स्टिक्स एन्ड स्टोन्स’ सत्र, अभिभावक शिक्षा कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी अभियानलगायतका गतिविधिको समीक्षा गरिएको थियो।

यी कार्यक्रमले बाल अधिकार, व्यक्तिगत सुरक्षा, मानव बेचबिखन रोकथाम, सकारात्मक अभिभावकत्व तथा बाल संरक्षणमा समुदायको जिम्मेवारीबारे सचेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको सहभागीहरूले बताएका थिए। बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन परिवार, विद्यालय र समुदायको साझा भूमिका महत्वपूर्ण हुने विषयमा समेत छलफल गरिएको थियो।
त्यसैगरी, भेरी माध्यमिक विद्यालयमा कक्षाकोठाको अवलोकन गर्नुका साथै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको थियो। अन्तरक्रियामा बाल संरक्षणसम्बन्धी विद्यार्थीको चेतनामा आएको सुधार, सुरक्षित सिकाइ वातावरण निर्माण, बालबालिकाको सुरक्षामा शिक्षकको भूमिका तथा विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यका विषयमा समीक्षा गरिएको थियो।

विद्यालयमा बालमैत्री वातावरण निर्माण गर्न भौतिक पूर्वाधारको सुधारसँगै बालबालिकाको भावना, आवश्यकता र सुरक्षालाई प्राथमिकता दिनुपर्ने विषयमा पनि जोड दिइएको थियो। बालबालिकाले कुनै डर, दबाब वा विभेदबिना आफ्नो कुरा राख्न सक्ने वातावरण निर्माण गर्नु विद्यालयको महत्वपूर्ण जिम्मेवारी भएको सहभागीहरूको भनाइ थियो।
अनुगमन टोलीले विद्यालयमा बाल संरक्षणसम्बन्धी गतिविधिलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न सुझाव दिएको छ। साथै, बालबालिकामाथि हुन सक्ने हिंसा, दुर्व्यवहार वा अन्य जोखिमसम्बन्धी उजुरी तथा घटनाको जानकारी लिने र आवश्यक निकायमा सिफारिस गर्ने संयन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको थियो।
परियोजनाअन्तर्गत सञ्चालन भएका सफल अभ्यासहरूको अभिलेखीकरण गरी तिनलाई निरन्तरता दिनुपर्ने विषय पनि अनुगमनका क्रममा उठाइएको थियो। बाल संरक्षणसम्बन्धी गतिविधि परियोजनाको अवधिमा मात्र सीमित नराखी दीर्घकालसम्म प्रभावकारी रूपमा सञ्चालन गर्न विद्यालय र स्थानीय तहले अपनत्व लिनुपर्ने सहभागीहरूको भनाइ थियो।

बालबालिकाको सुरक्षित भविष्य निर्माणका लागि विद्यालय, परिवार, समुदाय, स्थानीय सरकार तथा बाल अधिकारका क्षेत्रमा काम गर्ने संस्थाबीच समन्वय र सहकार्य आवश्यक रहेको औँल्याउँदै अनुगमन टोलीले प्राप्त सुझाव तथा अनुभवलाई आगामी कार्यक्रमको प्रभावकारिता अभिवृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिएको थियो।
संयुक्त अनुगमनले स्थानीय सरकार, विद्यालय र बाँके युनेस्को क्लबबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै बाल संरक्षणसम्बन्धी कार्यक्रमको उपलब्धि, चुनौती र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्ने अवसर प्रदान गरेको छ। यसले विद्यालयमा बालमैत्री वातावरण निर्माण तथा बाल अधिकार संरक्षणका प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।










