बाँके,२८ असोज ।
बाँकेको नेपालगन्जका सडक, चोक तथा गल्लीमा सामुदायिक कुकुरको सङ्ख्या बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन्। सडकमा हिँड्ने पैदलयात्रीलाई लखेट्ने, दुईपाङ्ग्रे सवारीसाधनको पछिपछि दौडिने र अचानक झम्टिने घटनाले दुर्घटनाको जोखिम बढाएको छ। कुकुरको टोकाइबाट बच्न र सडकमा सुरक्षित आवागमन गर्नसमेत सर्वसाधारणलाई समस्या हुन थालेको छ।
नेपालगन्ज–११, ईदगाह रोडका गयास सिद्दिकी कुकुरले झम्टिँदा स्कुटरबाट खसेर आफू घाइते भएको बताउनुहुन्छ। कुकुरको अचानक आक्रमणबाट सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटनाको जोखिम हुने गरेको उहाँको अनुभव छ।
त्यस्तै, नेपालगन्ज–२, बागेश्वरी टोलका मुन्ना पोरवालका अनुसार साँझ र रातिको समयमा सामुदायिक कुकुरको समूहका कारण सडकमा हिँडडुल गर्नसमेत कठिन हुने गरेको छ। सडकबत्तीको पर्याप्त व्यवस्था नहुँदा कुकुरको समूह देख्न र त्यसबाट जोगिन थप समस्या हुने गरेको उहाँ बताउनुहुन्छ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले सामुदायिक कुकुरको समस्याबाट बालबालिका, ज्येष्ठ नागरिक तथा दुईपाङ्ग्रे सवारीसाधन प्रयोगकर्ता बढी जोखिममा रहेको बताउनुभयो। कुकुरको समूहले अचानक झम्टिने र सवारीसाधनको पछिपछि दौडिने गर्दा दुर्घटना हुन सक्ने जोखिम रहेकाले स्थानीय सरकारले प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार गत जेठमा चार दिनसम्म शिविर सञ्चालन गरेर उपमहानगरपालिकाका २३ वटै वडाका २८१ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको थियो। सोही क्रममा कुकुरलाई रेबिजविरुद्धको खोपसमेत लगाइएको थियो। यद्यपि, सडकमा सामुदायिक कुकुरको समस्या अझै कायमै रहेको छ।
सामुदायिक कुकुरको बढ्दो सङ्ख्यासँगै जनावरको टोकाइ र रेबिजको जोखिम पनि चिन्ताको विषय बनेको छ। भेरी अस्पताल, नेपालगन्जमा आर्थिक वर्ष २०८२/८३ मा जनावरको टोकाइका आठ हजार ४०४ घटना अभिलेख भएका छन्। कुकुरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्ने सेवाग्राहीको सङ्ख्या पनि उल्लेख्य रहेको छ।
जनावरको टोकाइका घटनाले सार्वजनिक स्वास्थ्य र सडक सुरक्षामा चुनौती थपिरहेका बेला सामुदायिक कुकुर व्यवस्थापनका लागि एकपटकको अभियान मात्र पर्याप्त नहुने सरोकारवालाहरू बताउँछन्। उनीहरूका अनुसार कुकुरको नियमित बन्ध्याकरण, रेबिजविरुद्धको खोप अभियान, नयाँ जन्मिएका कुकुरको उचित व्यवस्थापन तथा सडकमा फोहोर फाल्ने प्रवृत्तिको नियन्त्रणलाई एकसाथ अघि बढाउन आवश्यक छ।
विशेषगरी बजार क्षेत्र, घना बस्ती, विद्यालय आसपास र बढी आवतजावत हुने सडकमा कुकुरको व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने देखिएको छ। स्थानीयवासीले सडकबत्तीको व्यवस्था, नियमित अनुगमन र प्रभावकारी नियन्त्रणका उपाय अवलम्बन गर्न माग गरेका छन्।
सामुदायिक कुकुरको व्यवस्थापन पशुकल्याणसँगै नागरिकको स्वास्थ्य र सुरक्षासँग पनि जोडिएको विषय हो। त्यसैले स्थानीय सरकार, पशु स्वास्थ्यकर्मी र समुदायबीच समन्वय गरेर दीर्घकालीन योजना कार्यान्वयन गर्न सके मात्र नेपालगन्जमा बढ्दो कुकुरको त्रास, दुर्घटनाको जोखिम र रेबिजको सम्भावना न्यूनीकरण गर्न सकिने देखिन्छ।









