• नमस्ते कर्णाली

  • बर्दिया ,१ कार्तिक ।

    बर्दियाका छोटी भन्सार कार्यालयहरू बन्द हुँदा वैधानिक रूपमा हुने आयात–निर्यात प्रभावित भएको छ भने राजस्व संकलनमा समेत असर परेको छ। माओवादी द्वन्द्वकालदेखि बन्द रहेका सात वटा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउन नसकिरहेका बेला गत साउन १ गतेदेखि तारातालस्थित छोटी भन्सार कार्यालयसमेत बन्द भएपछि जिल्लामा गुलरियाबाहेकका सबै छोटी भन्सार बन्द भएका छन्।

    जिल्लाका पडेरिया, गणेशपुर, कालाबन्जर, छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार कार्यालय सशस्त्र द्वन्द्वका बेला अन्यत्र स्थानान्तरण गरिएपछि बन्द भएका थिए। गत असारसम्म सञ्चालनमा रहेको ताराताल छोटी भन्सार पनि बन्द भएपछि सदरमुकाम गुलरियामा रहेको छोटी भन्सार र राजापुरमा रहेको मूल भन्सार कार्यालय मात्र सञ्चालनमा छन्।

    भन्सार कार्यालय राजापुरकी प्रमुख अनिता पौडेलले छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्व संकलन प्रभावित भएको बताउनुभयो। उहाँका अनुसार छोटी भन्सार सञ्चालनमा नहुँदा सीमावर्ती नाकाबाट वैधानिक रूपमा आयात–निर्यात हुने वस्तुको राजस्व संकलन हुन सकेको छैन।

    भारतसँग ८३ किलोमिटर सीमा जोडिएको बर्दियाको करिब ९० प्रतिशत सीमाक्षेत्र भारतीय घना जंगलले ढाकिएको छ। छोटी भन्सार कार्यालय बन्द हुनु र सीमावर्ती क्षेत्रमा पर्याप्त निगरानी तथा जनशक्ति नहुनुले चोरी–तस्करी नियन्त्रणमा चुनौती थपिएको सम्बन्धित कर्मचारीहरूको भनाइ छ। दैनिक उपभोग्य खाद्यान्न, कपडालगायतका वस्तुको अवैध ओसारपसार हुने गरेको उनीहरू बताउँछन्।

    सीमावर्ती मुख्य नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तैनाथ हुनुका साथै नियमित गस्तीसमेत हुने गरेको छ। तर, सुरक्षा निकायको उपस्थिति कम भएका स्थानबाट तस्करी हुने गरेको भन्सारका कर्मचारीहरूको भनाइ छ। जनशक्ति अभावका कारण प्रभावकारी रूपमा राजस्व संकलन तथा निगरानी गर्न कठिनाइ भइरहेको उनीहरूले बताएका छन्।

    चोरी–तस्करीबाट भित्र्याइएका सामान सुरक्षा निकायले बरामद गरी भन्सार कार्यालयमा बुझाउने र त्यसपछि लिलाम प्रक्रियामार्फत राजस्व संकलन हुने गरेको छ। भन्सार प्रमुख पौडेलका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी सशस्त्र प्रहरी बलले भन्सारमा बुझाउने गरेको छ। त्यसपछि नेपाल प्रहरी र भन्सार कार्यालयबाट राजस्व संकलन हुने गरेको उहाँले बताउनुभयो।

    चालु आर्थिक वर्षमा भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य तीन करोड ३६ लाख रुपैयाँ रहेको छ। भन्सार कार्यालयका सूचना अधिकारी प्रमोदकुमार महतोका अनुसार गत साउनयता सशस्त्र प्रहरी बलले एक करोड छ लाख ५९ हजार रुपैयाँ बराबरका चोरी–तस्करीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। सोही अवधिमा नेपाल प्रहरीले ३३ लाख २३ हजार रुपैयाँ बराबरका सामान बुझाएको छ भने भन्सार कार्यालय आफैँले तीन लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

    ताराताल छोटी भन्सार कार्यालय सञ्चालनमा रहेको गत आर्थिक वर्षमा ३३ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। तर, कार्यालय बन्द भएपछि उक्त नाकाबाट वैधानिक रूपमा आयात हुने सामानको राजस्व संकलन ठप्प भएको छ।

    भन्सार कार्यालयमा कर्मचारी अभावसमेत राजस्व संकलनको अर्को चुनौती बनेको छ। दरबन्दीअनुसार जनशक्ति नहुँदा दैनिक कामकाज प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ। हाल भन्सार अधिकृत एक, नायब सुब्बा छ, लेखापाल एक, चालक एक र कार्यालय सहयोगी छ जनाको दरबन्दी रहेकोमा नायब सुब्बामध्ये चार जना र कार्यालय सहयोगी तीन जना मात्र कार्यरत छन्।

    भन्सार प्रमुख पौडेलले जनशक्ति अभावका कारण राजस्व संकलन तथा कार्यालयको कामकाजमा कठिनाइ भइरहेको बताउनुभयो। यस्तै, सशस्त्र प्रहरीका एक अधिकारीले छोटी भन्सार कार्यालय नहुँदा बरामद गरिएका सामान गुलरिया पुर्‍याउनुपर्ने भएकाले प्रक्रिया झन्झटिलो हुने गरेको बताउनुभयो।

    छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउन नसक्दा एकातिर वैधानिक व्यापारबाट प्राप्त हुने राजस्व गुमिरहेको छ भने अर्कोतिर सीमावर्ती क्षेत्रमा चोरी–तस्करी नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ। त्यसैले छोटी भन्सारको पुनः सञ्चालन, पर्याप्त जनशक्तिको व्यवस्था र सीमावर्ती क्षेत्रमा प्रभावकारी निगरानी बढाउनु आवश्यक देखिएको छ।

  • २ कार्तिक २०८३, आईतवार ०७:४३ प्रकाशित

  • Nabintech