राजापुरमा छोराको कुटपिटबाट बुबाको मृत्यु

  • नमस्ते कर्णाली

  • बर्दिया ,९ कार्तिक ।
    बर्दियाको राजापुर नगरपालिका–३ सेन्दामा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ। आइतबार राति छोराको कुटपिटबाट गम्भीर घाइते हुनुभएका ४६ वर्षीय कल्लु थारुको उपचारका क्रममा मृत्यु भएको हो।
    प्रहरीका अनुसार २५ वर्षीय राजेन्द्र थारुले मदिरा सेवन गरी बुबा कल्लुलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते हुनुभएका कल्लुलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा लगिएको थियो। उपचारकै क्रममा सोमबार बिहान साढे ४ बजे उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ।

    इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रसाद चौधरीका अनुसार घटनाबारे राति ११ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा राजेन्द्रप्रसाद थारुलाई नियन्त्रणमा लिएको छ।

    “प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरी बुबामाथि कुटपिट गरेको देखिएको छ,” डीएसपी चौधरीले भन्नुभयो, “घटनामा संलग्न आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।”

    घटनास्थल बर्दिया सदरमुकाम गुलरियाबाट करिब ४० किलोमिटर पश्चिममा पर्छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • १० कार्तिक २०८३, सोमबार १६:१९ प्रकाशित

  • Nabintech