दाङ ,११ कार्तिक ।
थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहवरमा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा उक्त राहत सामाग्री नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गएिको हो ।
सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो । तीनवटा संकलन केन्द्रबाट ३३ हजार २७ किलोभन्दा बढी चामल संकलन भएको छ । त्यस्तै, १ हजार १०५ किलो दाल, २ हजार ४३३ किलो नुन, १७७ लिटर तेल, २९८ किलोभन्दा बढी लसुन, २०२ किलोभन्दा बढी बेसार, २२ किलोभन्दा बढी खुर्सानी, ३५ किलोभन्दा बढी गहुँ र ४० किलो पिठो संकलन गरिएको छ । यसका अतिरिक्त चाउचाउ र सोयाबिनलगायतका खाद्य सामग्री पनि संकलन गरिएको थियो ।
संकलित राहत सामग्री थारु कल्याणकारी सभा क्षेत्र नं. १ का सभापति गोकुलप्रसाद चौधरीले नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी ‘कृष्ण’लाई हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरणका क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रोहबरमा रहनुभएको थियो । विपद् प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको थियो । स्थानीय समुदायको सहभागितामा संकलित राहत सामग्री विपद् प्रभावित नागरिकसम्म पु¥याउन रेडक्रसमार्फत सहयोग गरिएको हो । विपद् प्रभावितहरुलाई लक्षित गरी राहत सामाग्री संकलन गरिएको र उक्त सामाग्री विपद् प्रभावितसमक्ष पु¥याउनेगरी रेडक्रसले भूमिका बढाउनुपर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।









