बाँके ,१५ कार्तिक ।
बाँदर र बँदेलले वर्षभरि गरेको मेहनतबाट उत्पादन हुने अन्नबाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसानले खेती गर्ने परम्परागत प्रणाली नै परिवर्तन गर्न थालेका छन्। जङ्गली जनावरबाट धान, मकै, गहुँ र तोरीलगायतका बाली जोगाउन कठिन भएपछि किसानले वैकल्पिक खेतीका रूपमा बेसारलाई रोजेका हुन्।
जङ्गलसँगै जोडिएको बस्ती भएकाले यहाँका किसानले वर्षौंदेखि जङ्गली जनावरको हैरानी खेप्दै आएका छन्। खेतमा लगाएको बाली पाक्ने बेलासम्म पनि सुरक्षित राख्न नसक्ने अवस्था भएपछि किसान निराश बन्ने गरेका थिए। तर, बेसार खेतीमा जङ्गली जनावरबाट क्षति नहुने र उत्पादन बिक्रीका लागि बजारसमेत गाउँमै उपलब्ध हुन थालेपछि स्थानीय किसानका लागि बेसार खेती आम्दानीको भरपर्दो विकल्प बन्दै गएको छ।
स्थानीय पूर्णकला गिरीले गत वर्ष चार कट्ठा जमिनमा बेसार खेती गर्नुभएको थियो। उत्पादन र आम्दानी राम्रो भएपछि यस वर्ष थप एक कट्ठामा खेती विस्तार गर्नुभएको छ। गत वर्ष २२ क्विन्टल बेसार उत्पादन गर्नुभएकी उहाँले यस वर्ष ३० देखि ३५ क्विन्टल उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ।
“धान, मकै, गहुँ र तोरी बाँदर तथा बँदेलले सखाप पार्छन्। बेसारलाई भने जङ्गली जनावरले क्षति गर्दैनन्। त्यसैले जङ्गलछेउको जमिनमा बेसार खेती गरेका छौँ,” गिरीले भन्नुभयो।
उहाँले काँचो बेसार, बिउ र पिँधेको बेसार बिक्री गर्दै आउनुभएको छ। उहाँका अनुसार बेसारको बिउ प्रतिक्विन्टल छ हजार रुपैयाँ, काँचो बेसार प्रतिक्विन्टल तीन हजार रुपैयाँ र पिँधेको बेसार प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री हुने गरेको छ। बेसार बिक्रीबाट प्राप्त आम्दानीले घरपरिवारका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री खरिद गर्न सहज भएको उहाँले बताउनुभयो।
स्थानीय सरस्वती बुढाथोकीका अनुसार धान र मकैको तुलनामा बेसार खेतीमा लागत र श्रम कम लाग्ने तथा आम्दानी राम्रो हुने गरेको छ। रासायनिक मलको सट्टा जङ्गलको घाँसपात र गोठेमल प्रयोग गरेर खेती गर्न सकिने भएकाले पनि किसान यसतर्फ आकर्षित भएका हुन्।
जङ्गली जनावरबाट हुने क्षतिको मारमा परेकी स्थानीय मनीषा घर्तीमगरले आगामी वर्षदेखि मकै खेती गर्दै आएको जमिनमा बेसार लगाउने तयारी गर्नुभएको छ। उहाँले दुई कट्ठा जमिनमा लगाएको मकै बाँदर र बँदेलले नष्ट गरेपछि परिवारले त्यसबाट कुनै लाभ लिन नसकेको बताउनुभयो। वर्षभरि मेहनत गरेर लगाएको बाली भित्र्याउन नपाउने समस्याबाट मुक्त हुन पनि बेसार खेती उपयुक्त विकल्प हुने उहाँको विश्वास छ।
स्थानीय सुकी डाँगीले पनि चार कट्ठा जमिनमा बेसार खेती गर्नुभएको छ। जङ्गली जनावरको डर नहुने र बिक्रीका लागि व्यापारी गाउँमै आउने भएकाले अन्य बालीको तुलनामा बेसार खेती सहज लागेको उहाँले बताउनुभयो।
बेसार खेतीसँगै स्थानीय महिलाले उत्पादनको प्रशोधन र बजारीकरणमा समेत सक्रियता देखाएका छन्। गाउँमै बेसार पिँध्ने मिल सञ्चालनमा ल्याइएको छ भने बेसार छिल्ने मेसिनसमेत भित्र्याइएको छ। स्थानीय महिलाको समूहले सञ्चालन गरेको मिलमा समूहका सदस्यलाई विशेष छुटको व्यवस्था गरिएको मनकुमारी थापाले बताउनुभयो।
उहाँका अनुसार बेसार खन्नासाथ व्यापारी गाउँमै आएर खरिद गर्ने गरेका छन्। काँचो बेसार बिक्री नभए बिउका रूपमा राख्न र आवश्यकताअनुसार पिँधेर बिक्री गर्न सकिने भएकाले उत्पादन खेर जाने जोखिमसमेत कम छ।
“पहिले हँसियाले बेसार छिल्नुपर्थ्यो। समय धेरै लाग्ने र काम गर्न असहज हुने गरेको थियो। अहिले मेसिन आएपछि सहज भएको छ,” पूर्णकलाले भन्नुभयो।
स्थानीय अर्की किसान रीता बुढाका अनुसार बेसार खेतीले जङ्गली जनावरबाट हुने बालीनालीको क्षति कम गर्नुका साथै महिलालाई आफ्नै गाउँमा बसेर आम्दानी गर्ने अवसर दिएको छ। परम्परागत खेतीमा गरेको लगानीसमेत उठाउन नसक्ने अवस्था रहेकामा बेसार खेतीबाट उत्पादन बिक्री गर्न र घरखर्च चलाउन सहज भएको उहाँको भनाइ छ। उहाँले अन्य किसानलाई पनि जङ्गली जनावरको समस्या भएका जमिनमा बेसारजस्ता वैकल्पिक बाली लगाउन प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।
तराई भू–परिधि कार्यक्रम (ताल) को सहयोगमा किसानले बेसार खेतीसम्बन्धी जानकारी र सीप पाएपछि यहाँ खेती विस्तार हुन थालेको हो। जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि वैकल्पिक खेतीका रूपमा बेसार रोजेको स्थानीयको भनाइ छ।
पूर्णकलाका अनुसार सल्यानी टोलका करिब २० घरपरिवारले व्यावसायिक रूपमा बेसार खेती गर्दै आएका छन्। यस वर्ष गाउँमा एक सय क्विन्टलभन्दा बढी बेसार उत्पादन हुने अनुमान गरिएको छ।
बाँदर र बँदेलको आतङ्कका कारण परम्परागत अन्नबालीबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका सल्यानी टोलका किसानले बेसार खेतीमार्फत सम्भावनाको नयाँ बाटो पहिल्याएका छन्। उत्पादनसँगै प्रशोधन र बजारीकरणलाई पनि गाउँमै जोड्न थालेपछि यसले स्थानीय महिलाको आर्थिक आत्मनिर्भरता बढाउन सहयोग पुर्याएको छ।
जङ्गली जनावरबाट हुने बालीनालीको क्षति न्यूनीकरण गर्दै स्थानीय स्रोत, सीप र श्रमको उपयोगबाट आम्दानी बढाउन सकिने उदाहरण बनेको सल्यानी टोलको बेसार खेतीलाई थप व्यवस्थित गर्न सके यसले अन्य वन क्षेत्रसँग जोडिएका बस्तीका किसानलाई समेत वैकल्पिक खेतीतर्फ आकर्षित गर्न सक्ने देखिएको छ।









