बर्दिया ,१६ कार्तिक ।
सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) को साझेदारीमा सञ्चालित युवा नागरिक स्कोर कार्ड (Youth Citizen Score Card–YCSC) सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण (Training of Trainers–ToT) २०२६ नोभेम्बर १ (२०८३ कार्तिक १६ गते) सफलतापूर्वक सम्पन्न भएको छ।
२०२६ अक्टोबर २८ देखि नोभेम्बर १ सम्म सञ्चालन भएको उक्त तालिममा बर्दिया जिल्लाका मधुवन, गुलरिया र ठाकुरबाबा नगरपालिकाका २० जना युवा स्वयंसेवक तथा परियोजनाका कर्मचारीसहित जम्मा ३० जनाको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य युवाहरूको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्नु, बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार प्रवर्द्धन गर्नुका साथै विशेषगरी सीमान्तकृत तथा पछाडि पारिएका समुदायको सार्वजनिक सेवामा समान र सहज पहुँच सुनिश्चित गर्न युवाहरूको भूमिका सुदृढ गर्नु रहेको थियो।

तालिमका क्रममा सहभागीहरूले सरकारी विद्यालय तथा स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर मूल्याङ्कन गर्ने, सेवाग्राही तथा अभिभावकको सन्तुष्टिको अवस्था विश्लेषण गर्ने, सेवा प्रदायकहरूको भूमिका तथा जिम्मेवारीको समीक्षा गर्ने र सेवा प्रवाहमा रहेका सबल पक्ष, चुनौती तथा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्ने विषयमा सैद्धान्तिक ज्ञान तथा व्यावहारिक सीप हासिल गरेका थिए।
यसका साथै सरोकारवालासँग प्रभावकारी समन्वय तथा संवाद गर्ने, प्रमाणमा आधारित सूचना तथा तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने एवं सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन व्यावहारिक सुझाव र कार्ययोजना तयार गर्ने विषयमा समेत विशेष जोड दिइएको थियो।
तालिम समापन समारोह बाँके युनेस्को क्लबका उपाध्यक्ष श्री निरज कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख श्री तेजबहादुर भाट प्रमुख अतिथिका रूपमा तथा प्लान इन्टरनेशनल नेपाल, सुर्खेतकी क्षेत्रीय कार्यक्रम प्रबन्धक सुश्री मीना पराजुली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समापन सत्रमा सहभागीहरूले परियोजनाको अवधि समाप्त भएपछि पनि युवा नागरिक स्कोर कार्डको अवधारणालाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई आ–आफ्नो समुदायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूलाई बालअधिकार प्रवर्द्धन, किशोरकिशोरीको सशक्तीकरण तथा गुणस्तरीय शिक्षा र बाल संरक्षण सेवामा पहुँच अभिवृद्धिका लागि समुदाय, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवालासँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रोत्साहित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख श्री तेजबहादुर भाटले युवाहरू समुदायका अमूल्य सम्पत्ति तथा सकारात्मक सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य हानिकारक सामाजिक अभ्यासविरुद्धका अभियानमा युवाहरूले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, विशिष्ट अतिथि प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय कार्यक्रम प्रबन्धक सुश्री मीना पराजुलीले युवाहरूको सक्रिय सहभागिता तथा सरोकारवाला निकायहरूबीचको आपसी सहकार्य र समन्वयबाट बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले बालअधिकार सुनिश्चित गर्न तथा किशोरीहरूको सशक्तीकरणलाई थप प्रभावकारी बनाउन युवाहरू र सम्बन्धित सरोकारवालाहरूको साझा प्रयास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा बाँके युनेस्को क्लबका उपाध्यक्ष श्री निरज कुमार गौतमले समाजमा सकारात्मक परिवर्तन ल्याउन किशोरकिशोरी तथा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायस्तरका अभियान तथा पहलहरूमा युवाहरूले आत्मविश्वास, जिम्मेवारीबोध र जवाफदेहिताका साथ नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
तालिमपश्चात् युवा स्वयंसेवकहरूले विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था, किशोरीहरू तथा अन्य सम्बन्धित सरोकारवालाहरूसँग समन्वय, परामर्श, छलफल तथा अन्तरक्रिया गरी सार्वजनिक सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने, सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्ने तथा गुणस्तरीय शिक्षा र प्रभावकारी बाल संरक्षण सेवाका लागि पैरवी गर्नेछन्।यस पाँचदिने तालिमको सफल समापनले युवा नेतृत्वमा आधारित सामाजिक जवाफदेहिता, अर्थपूर्ण सहभागिता तथा स्थानीय सुशासनमा युवाहरूको रचनात्मक संलग्नता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको छ। आवश्यक ज्ञान, सीप र व्यावहारिक अनुभवबाट सशक्त भएका युवाहरू आगामी दिनमा जिम्मेवार परिवर्तनका संवाहकका रूपमा स्थापित हुँदै थप समावेशी, जवाफदेही तथा बालमैत्री समुदाय निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।उक्त पाँचदिने तालिमको सहजीकरण श्री रोशन तिमिल्सेनाले गर्नुभएको थियो।

सुरक्षित भविष्य परियोजना (Safe Future for Children, Adolescents and Youth–CAY Project) प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सहयोगमा बाँके युनेस्को क्लब (BUC) र राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) द्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको छ।









