बर्दिया ,१७ कार्तिक ।
बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भूमिका प्रभावकारी बनाउने उद्देश्यले बर्दियाको मधुवन नगरपालिकामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब (बीयूसी), राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा आयोजित कार्यक्रममा बालविवाह रोकथाम तथा हानिकारक परम्परागत अभ्यास न्यूनीकरणमा स्वास्थ्य क्षेत्रको भूमिका, संस्थागत समन्वय र सामूहिक प्रयासका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीसहित स्वास्थ्य, शिक्षा, प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधि, नगरपालिका अस्पतालका प्रतिनिधि र विभिन्न स्वास्थ्य संस्थाका प्रमुख गरी १८ जना सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रममा नगर उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षणसम्बन्धी गतिविधिको प्रशंसा गर्नुभयो। उहाँले बालविवाह रोकथाम र जनचेतना अभिवृद्धिमा संस्थाले पुर्याएको योगदान सकारात्मक रहेको बताउनुभयो।
उपप्रमुख चौधरीले किशोरकिशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौतीको सामना गरिरहेका व्यक्तिहरूलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना बनाएको जानकारी दिनुभयो।
त्यसैगरी, शिक्षा शाखा प्रमुखले बालविवाह अन्त्यका लागि नगरपालिका अन्तर्गतका विभिन्न शाखा, गैरसरकारी संस्था र समुदायमा आधारित क्लबबीच प्रभावकारी समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले स्वास्थ्य संस्थाहरूलाई बालविवाह रोकथामसम्बन्धी समुदायस्तरका जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागी हुन आग्रह गर्नुभयो। उहाँले किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रवाह, स्वास्थ्य संस्थामा सेवा लिन आउने किशोरकिशोरीप्रति सम्मानजनक र संवेदनशील व्यवहार तथा तथ्याङ्क र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।
अन्तरक्रियाका क्रममा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले पनि बाल संरक्षण प्रवर्द्धन र बालविवाह रोकथामका लागि बाँके युनेस्को क्लबसँग सहकार्य गर्दै समुदायस्तरका गतिविधिमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा बालविवाहका घटनाको समयमै पहिचान गरी सम्बन्धित निकायलाई जानकारी गराउने, समुदायस्तरमा नियमित अनुगमन गर्ने, परामर्श सेवालाई थप सुदृढ बनाउने तथा स्वास्थ्य संस्थामा मात्र सीमित नभई परिवार र समुदायसम्म पुगेर संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने साझा प्रतिबद्धता गरिएको थियो।
बाल संरक्षणका प्रयासलाई दिगो र प्रभावकारी बनाउन निरन्तर समन्वय, संस्थागत जवाफदेहिता र स्थानीय तहदेखि समुदायसम्मका सबै सरोकारवालाको सक्रिय सहभागिता अपरिहार्य रहेको निष्कर्षसमेत निकालिएको थियो।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबअन्तर्गत सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले गर्नुभएको थियो। कार्यक्रममा संरक्षण अधिकृत विजय शर्माले सहयोग गर्नुभएको थियो भने फिल्ड सुपरभाइजर मिनु थारु र दीक्षा बिष्टले व्यवस्थापन तथा समन्वय गर्नुभएको थियो।
बालविवाह अन्त्यका लागि जनचेतना अभिवृद्धिसँगै स्वास्थ्य संस्था, स्थानीय सरकार, सामाजिक सङ्घसंस्था र समुदायबीचको सहकार्य तथा निरन्तरको सामूहिक प्रयास आवश्यक रहेकोमा कार्यक्रमले जोड दिएको छ।









