बर्दिया ,९ मंसिर ।
बर्दिया जिल्ला अस्पताल, गुलरियामा बिरामीलाई सहज रूपमा अक्सिजन उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको अक्सिजन प्लान्ट तीन वर्षदेखि बन्द अवस्थामा छ। कोरोना महामारीका बेला अक्सिजनको अभाव हुन नदिन संघीय सरकारको सहयोगमा स्थापना गरिएको प्लान्ट सञ्चालनमा आउन नसक्दा अस्पतालले अहिले नेपालगन्ज र कोहलपुरबाट अक्सिजन खरिद गर्नुपर्ने बाध्यता रहेको छ।
आर्थिक वर्ष २०७७/०७८ देखि अक्सिजन उत्पादन सुरु गरेको प्लान्ट करिब तीन वर्ष सञ्चालन भएपछि बन्द भएको हो। प्लान्टबाट दैनिक २० एमएम क्षमतामा अक्सिजन उत्पादन हुँदै आएको थियो। तर, नियमित सञ्चालन हुन नसक्दा लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचना अहिले प्रयोगविहीन बनेको छ।
जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुभाष पाण्डेयले अक्सिजन प्लान्ट सञ्चालन गर्दा लाग्ने खर्चभन्दा बाहिरबाट अक्सिजन खरिद गर्दा सस्तो पर्ने भएकाले प्लान्ट बन्द गरिएको बताउनुभयो। उहाँका अनुसार प्लान्ट सञ्चालनका लागि वर्षेनी सर्भिसिङ गर्नुपर्ने तथा नियमित कर्मचारी परिचालन गर्नुपर्ने भएकाले खर्च बढी हुने गरेको छ।
“अक्सिजनको माग अन्यत्रबाट हुन सकेको छैन। प्लान्ट सञ्चालन गर्दा लाग्ने उत्पादन खर्चभन्दा बाहिरबाट खरिद गर्दा कम मूल्य पर्ने भएकाले बन्द भएको हो,” उहाँले भन्नुभयो।
अस्पतालका अनुसार अक्सिजन प्लान्ट सञ्चालन गर्दा वार्षिक १८ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको थियो। प्लान्टमा नियमित खटिने दुई जना कर्मचारीको तलब, विद्युत् महसुल, मर्मतसम्भार तथा सर्भिसिङलगायतका शीर्षकमा उक्त रकम खर्च हुने गरेको डा. पाण्डेयले जानकारी दिनुभयो। तर, नेपालगन्ज र कोहलपुरबाट अक्सिजन खरिद गर्दा वार्षिक १४ देखि १५ लाख रुपैयाँ मात्रै खर्च हुने गरेको अस्पतालको भनाइ छ।
अस्पताल परिसरमै निर्माण गरिएको प्लान्टबाट उत्पादित अक्सिजन भण्डारण गर्न पाइपलाइनसमेत जडान गरिएको थियो। ८१ लाख ९० हजार रुपैयाँभन्दा बढी लागतमा भौतिक संरचनासहित प्लान्ट निर्माण गरिएको थियो भने थप ४५ लाख रुपैयाँ खर्च गरेर पाइपलाइन विस्तार गरिएको थियो। प्लान्टबाट ७५/७५ लिटर क्षमताका ठूला सिलिन्डरमा अक्सिजन भर्ने व्यवस्था मिलाइएको थियो।
कोरोना महामारीका बेला अक्सिजनको चरम अभाव भएपछि अस्पतालमै अक्सिजन उत्पादन गर्ने उद्देश्यले संघीय सरकारको सशर्त अनुदानमा प्लान्ट स्थापना गरिएको थियो। महामारीका समयमा अक्सिजन आपूर्तिमा सहजता ल्याउने अपेक्षासहित निर्माण गरिएको प्लान्ट केही वर्षमै बन्द हुन पुगेको हो।
प्लान्ट बन्द भएपछि अस्पताललाई आवश्यक पर्ने अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने अवस्था छ। अक्सिजन लिन नेपालगन्ज र कोहलपुर पुग्नुपर्ने बाध्यता हुँदा आपूर्तिमा ढिलाइ हुने तथा ढुवानी व्यवस्थापनमा समेत समस्या आउन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
अस्पतालमा अक्सिजनको नियमित आवश्यकता पर्ने बिरामीको उपचारमा बाह्य बजारमा निर्भर हुनुपर्ने अवस्था रहनु आफैँमा चुनौतीपूर्ण देखिन्छ। एकातिर करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको संरचना प्रयोगविहीन बनेको छ भने अर्कोतिर अस्पतालले त्यही अक्सिजन बाहिरबाट खरिद गरिरहेको छ।
लागत र सञ्चालन खर्चको हिसाबले बाहिरबाट अक्सिजन खरिद गर्नु सस्तो देखिए पनि आपत्कालीन अवस्थामा अस्पतालमै अक्सिजन उत्पादन गर्ने व्यवस्था हुनु उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यसैले प्लान्टलाई पूर्ण रूपमा बन्द राख्नुभन्दा यसको प्राविधिक अवस्था, सञ्चालन लागत र दीर्घकालीन उपयोगिताको मूल्याङ्कन गरी प्रभावकारी विकल्प खोज्न आवश्यक देखिएको छ।









