सुर्खेत, ११ मंसिर ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मुख्य कभर्डहलमा जारी बक्सिङको पहिलो चरणका खेलहरू बिहीबार सम्पन्न भएका छन् । बिहीबार भएका महिला र पुरुषतर्फका कुल ३४ बाउट (खेल) का नतिजासँगै शुक्रबार हुने क्वाटरफाइनल समीकरणसमेत पूरा भएको हो ।
प्रतियोगिताको पहिलो दिन विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यस्तै, सह–आयोजक कर्णाली प्रदेशसहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका खेलाडीले पनि आ–आफ्नो तौल समूहमा जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेका छन् ।
(पुरुषतर्फको नतिजा)
पुरुषतर्फ विभिन्न तौल समूहमा रोचक प्रतिस्पर्धा भएका थिए । ५० केजी (फ्लाई वेट) तौल समूहमा एपीएफका लक्ष्मण राईले लुम्बिनीका लक्ष्मण चन्दलाई ५–० को अंकका आधारमा पराजित गर्दा कर्णालीका मोहन गुरुङले गण्डकीका आकाश रानालाई ३–२ को प्रतिस्पर्धामा हराए । ५५ केजी (ब्यान्टम वेट) मा कर्णालीका रोहन सारुले बागमतीका मदनकृष्ण डंगोललाई आरएससी–आई (रेफ्री स्टप्स कन्टेस्ट–इन्जुरी) का आधारमा दोस्रो राउन्डमै पराजित गरे भने कोशीका फुङ्लाङ काम्बाङले आर्मीका बलबहादुर खड्कालाई ४–१ ले पन्छाए । ६० केजी (लाइट वेट) मा आर्मीका खगेन्द्र रोका मगरले गण्डकीका चन्द्रबहादुर थापालाई दोस्रो राउन्डमा आरएससीका आधारमा तथा एपीएफका विक्रम परियारले मधेशका उत्सव बस्नेतलाई ५–० ले पराजित गरे । ६५ केजी (वेल्टर वेट) मा पुलिसका सोहन राईले गण्डकीका मानबहादुर हमाललाई र आर्मीका नितेश नेपालीले कोशीका अनिश भुजेललाई समान ५–० को अंकमा पराजित गरे । सोही तौल समूहमा मधेशका ससिन शाक्यले वाकओभर दिएपछि सुदूरपश्चिमका विनोद नगरजी विजयी भए । ७० केजी (लाइट मिडल वेट) मा पुलिसका सुजन पौडेलले कोशीका सुनिल कार्कीलाई दोस्रो राउन्डमा नकआउट (केओ) गरे भने एपीएफका विक्रम चौधरीले गण्डकीका निशान गुरुङलाई ५–० ले र सुदूरपश्चिमका भरत चन्दले मधेशका भुवन सुस्लिङलाई पहिलो राउन्डमै आरएससीका आधारमा हराए । ७५ केजी (मिडल वेट) मा मधेशका मनिषकुमार चौधरीले पुलिसका रिवाज तामाङलाई ५–० ले, एपीएफका सुमन कार्कीले सुदूरपश्चिमका उदिप भण्डारीलाई ४–१ ले तथा गण्डकीका रविन गुरुङले बागमतीका अभिषेक श्रेष्ठलाई ४–१ ले पराजित गरे । ८० केजी (लाइट हेभी वेट) मा एपीएफका झलक रोकायले गण्डकीका अमिश थापालाई ४–१ ले र सुदूरपश्चिमका बालकृष्ण सुनारले लुम्बिनीका चन्द्रज्योति थापा मगरलाई ५–० ले पराजित गरे । ८५ केजी (क्रुजर वेट) मा गण्डकीका किरण विकले पुलिसका सम्राट थापा क्षेत्रीलाई ४–० ले हराउँदा आर्मीका मदन कार्कीले मधेशका सुरज बेल्दारबाट वाकओभर पाए । ९० केजी (हेभी वेट) मा कर्णालीका विजयबाबु सुनारले वाकओभर दिएपछि कोशीका रियाज ढकाल तथा लुम्बिनीका अभिषेक बुढाथोकीले खेल परित्याग (एबीडी) गरेपछि आर्मीका पिताम्बर थापा विजयी भए । ९० केजीमाथि (सुपर हेभी वेट) मा गण्डकीका सौगात गुरुङले सुदूरपश्चिमका ललित भट्टलाई दोस्रो राउन्डमा आरएससी तथा आर्मीका गणेश प्रधानले बागमतीका विवेश बासुलाई पहिलो राउन्डमै एबीडीका आधारमा पराजित गरे ।
(महिलातर्फको नतिजा)
महिलातर्फ ४८ केजी (लाइट फ्लाई वेट) मा कोशीकी मनिषा राईले लुम्बिनीकी सुहानी श्रेष्ठलाई ५–० ले तथा आर्मीकी आरती बोम्जनले सुदूरपश्चिमकी भगवतीकुमारी साउदलाई तेस्रो राउन्डमा आरएससीका आधारमा पराजित गरिन् । ५१ केजी (फ्लाई वेट) मा आर्मीकी लालुमाया खत्री क्षेत्रीले कर्णालीकी सिम्रन रसाइलीलाई पहिलो राउन्डमै आरएससीको आधारमा हराइन् । ५४ केजी (ब्यान्टम वेट) मा कोशीकी मुस्कान तुलाधरले कर्णालीकी रोशनी बस्नेतलाई ५–० ले पराजित गर्दा सुदूरपश्चिमकी दीपा रावलले वाकओभर दिएपछि लुम्बिनीकी उर्मिला बसेल क्वाटरफाइनलमा पुगिन् । ५७ केजी (फेदर वेट) मा लुम्बिनीकी श्रेया योगीले वाकओभर दिएपछि सुदूरपश्चिमकी कविता सिंह तथा एपीएफकी खिमा खतीले बागमतीकी प्रिक्षा लामालाई ५–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । यसैगरी, ६० केजी (लाइट वेट) मा लुम्बिनीकी मुस्कान अग्रवालले गण्डकीकी रोमिया गुरुङलाई ५–० ले पराजित गरिन् । ६५ केजी (वेल्टर वेट) मा सुदूरपश्चिमकी सञ्जिता चौधरीले कोशीकी ग्रेस्टा श्रेष्ठलाई ५–० ले हराउँदा लुम्बिनीकी जेसिका पुरीले खेल त्यागेपछि पुलिसकी लक्ष्मी घर्ती मगर विजयी भइन्। ७५ केजी (मिडल वेट) मा कर्णालीकी शर्मिला मल्लले वाकओभर दिएपछि सुदूरपश्चिमकी प्रतिक्षा रोकाया विजेता बनिन् ।
(शुक्रबार क्वाटरफाइनलका खेल हुने)
प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान ११ बजेदेखि दोस्रो सत्रमा महिला र पुरुषतर्फका कुल ३५ वटा क्वाटरफाइनल खेलहरू सञ्चालन हुने प्राविधिक प्रतिनिधि पुष्करराज पन्तले जानकारी दिएका छन्। जसअनुसार महिलातर्फ १७ र पुरुषतर्फ १८ क्वाटरफाइनल भिडन्त हुनेछन् ।









