सुरक्षा परियोजनाले बाल संरक्षण र मानव बेचबिखन रोकथाममा पुर्‍यायो योगदान

  • नमस्ते कर्णाली

  • बर्दिया ,१२ मंसिर ।

    बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित सुरक्षा परियोजनाको अन्तिम समीक्षा तथा सिकाइ आदानप्रदान बैठक सम्पन्न भएको छ। बैठकले परियोजनाले लक्षित समुदायमा बाल संरक्षण सुदृढीकरण, मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र सुरक्षित आप्रवासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेको छ।

    बर्दियाको राजापुर र मधुवन नगरपालिकामा सञ्चालन गरिएको परियोजनाको अन्तिम समीक्षा बैठकमा परियोजनाका उपलब्धि, समुदायस्तरमा देखिएका परिवर्तन, कार्यान्वयनका क्रममा प्राप्त सिकाइ, चुनौती तथा आगामी दिनमा उपलब्धिहरूलाई दिगो बनाउने उपायबारे छलफल गरिएको थियो।

    बैठकमा प्लान इन्टरनेशनल नेपालका प्रतिनिधि, बाँके युनेस्को क्लबको व्यवस्थापन, कार्यसमिति सदस्य तथा परियोजनाका कर्मचारीहरूको सहभागिता रहेको थियो। परियोजनाले निर्धारित लक्ष्य तथा अपेक्षित उपलब्धि हासिल गर्न गरेको प्रगतिको समीक्षा गर्दै समुदायमा पारेको प्रभाव र योगदानको मूल्याङ्कन गरिएको थियो।

    बैठकमा परियोजना संयोजक ईश्वर बि.क.ले परियोजनाको समग्र प्रगति, उपलब्धि, सफल अभ्यास, महत्वपूर्ण सिकाइ, कार्यान्वयनका चुनौती तथा दिगोपना योजनाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले परियोजनामार्फत बाल संरक्षणका संयन्त्र सुदृढीकरण, मानव बेचबिखन तथा ओसारपसारको रोकथाम, सुरक्षित आप्रवासन प्रवर्द्धन र समुदायस्तरमा सचेतना अभिवृद्धिका क्षेत्रमा भएका कामबारे जानकारी गराउनुभएको थियो।

    परियोजनाले बालबालिका, युवा, अभिभावक, विद्यालय तथा स्थानीय सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि र सशक्तीकरणमा समेत योगदान पुर्‍याएको उहाँले बताउनुभयो।

    त्यसैगरी, फिल्ड सुपरभाइजर साबित्रा भाट र प्रमिशा थारूले समुदायस्तरमा परियोजना कार्यान्वयनका क्रममा प्राप्त व्यावहारिक अनुभव, सिकाइ तथा देखिएका सकारात्मक परिवर्तन प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले समुदायको अर्थपूर्ण सहभागिता, युवाको नेतृत्वमा सञ्चालित पहल, अभिभावकको संलग्नता, विद्यालयमा आधारित कार्यक्रम तथा स्थानीय सरोकारवालासँगको सहकार्यले बाल संरक्षण र मानव बेचबिखन तथा ओसारपसार रोकथाममा महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाउनुभएको थियो।

    बैठकमा वित्त तथा लजिस्टिक अधिकृत सञ्जय चौधरीले परियोजनाको वित्तीय प्रगतिबारे प्रस्तुतीकरण गर्नुभएको थियो। साथै, परियोजनाका प्रमुख गतिविधि, उपलब्धि र समुदायस्तरमा देखिएका परिवर्तन समेटिएको वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो। वृत्तचित्रमार्फत सहभागीहरूले परियोजनाको कार्यान्वयन यात्रा र लक्षित समुदायमा पारेको प्रभावको समीक्षा गरेका थिए।

    प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय व्यवस्थापक मीना पराजुलीले सुरक्षा परियोजनाको सफल कार्यान्वयनमा बाँके युनेस्को क्लब तथा परियोजना टोलीले निर्वाह गरेको भूमिका, समर्पण र योगदानको प्रशंसा गर्नुभयो। उहाँले मानव बेचबिखन तथा ओसारपसार रोकथाम र बाल संरक्षण सुदृढीकरणमा परियोजनाले समुदायस्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो।

    परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन स्थानीय सरकार र सम्बन्धित सरोकारवालासँग निरन्तर समन्वय तथा सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। परियोजनाले स्थापना गरेका सफल अभ्यास र संयन्त्रलाई परियोजना समाप्तिपछि पनि क्रियाशील राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    त्यसैगरी, प्लान इन्टरनेशनल नेपालको केन्द्रीय टोलीका प्रतिनिधि सन्देश शिल्पकारले परियोजनाका उपलब्धि तथा मानव बेचबिखन र ओसारपसार रोकथाम एवं बाल संरक्षण प्रवर्द्धनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले परियोजनाका असल अभ्यास र सिकाइलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्दै स्थानीय स्वामित्व सुदृढ बनाउनुपर्ने बताउनुभयो।

    स्थापित संयन्त्र, संस्थागत क्षमता र समुदायमा आधारित पहललाई निरन्तरता दिन स्थानीय सरकार, अन्य विकास कार्यक्रम तथा सरोकारवालाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

    बैठकको अध्यक्षता बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङले गर्नुभएको थियो। समापन मन्तव्यका क्रममा उहाँले परियोजना कार्यान्वयनमा सहयोग पुर्‍याउने प्लान इन्टरनेशनल नेपाल, क्लबको व्यवस्थापन, कार्यसमिति सदस्य, परियोजना कर्मचारी, स्थानीय सरकार तथा समुदायका सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

    परियोजनाबाट प्राप्त उपलब्धि परियोजना अवधिमा मात्र सीमित नराखी आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले संस्थागत प्रतिबद्धता, सामूहिक जिम्मेवारी र स्थानीय सरकार तथा विकास साझेदारसँगको समन्वयमार्फत उपलब्धिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    बैठकमा प्लान इन्टरनेशनल नेपालको केन्द्रीय तथा क्षेत्रीय टोलीबाट शान्ति उपाध्याय, गीता बिडारी, शान्ति थापा र दुर्गा क्षेत्रीको सहभागिता रहेको थियो। त्यस्तै, बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यसमिति सदस्य मीना चौधरी र सपना परियार तथा सुरक्षा परियोजनाका कर्मचारीहरूको उपस्थिति थियो।

    बैठकले परियोजनाबाट प्राप्त उपलब्धिलाई दिगो बनाउन राजापुर र मधुवन नगरपालिका, सम्बन्धित सरकारी निकाय, विद्यालय, युवा सञ्जाल तथा समुदायस्तरका संरचनासँग निरन्तर समन्वय, सहकार्य र अनुगमनलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको छ।

    परियोजनाका सफल अभ्यासलाई स्थानीय सरकारका नीति, योजना तथा बजेटमा समावेश गर्ने, स्थानीय स्वामित्व बढाउने, समुदायस्तरमा सचेतनामूलक अभियानलाई निरन्तरता दिने तथा सेवा प्रवाह र समन्वयका संयन्त्रलाई क्रियाशील राख्ने विषयमा पनि जोड दिइएको छ।

    परियोजनाबाट हासिल भएका उपलब्धि र सिकाइलाई दीर्घकालीन सामुदायिक पहल तथा व्यवहारमा रूपान्तरण गर्ने साझा प्रतिबद्धतासहित बैठक सम्पन्न भएको बाँके युनेस्को क्लबले जनाएको छ।

  • १३ मंसिर २०८३, शनिबार ०९:२२ प्रकाशित

  • Nabintech