बाँके ,१३ मंसिर ।
१२औँ संस्करणको धारा नेपालगन्ज म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरिकुकेले जित्नुभएको छ। शनिबार बिहान नेपालगन्जको बीपी चोकबाट सुरु भएको ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्दै जुलियसले उपाधि हात पार्नुभएको हो।
प्रतियोगितामा नेपाली धावक कुलबहादुर दोस्रो र कृष्णबहादुर तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो। जुलियसको जितसँगै नेपालगन्ज म्याराथनको १२ वर्षे इतिहासमा पहिलोपटक विदेशी धावकले उपाधि जित्नुभएको छ। यसअघि नेपाली धावकले कायम राख्दै आएको उपाधिमाथिको वर्चस्व यसपटक केन्याली धावकले तोड्नुभएको हो।
देश तथा विदेशका धावकहरूको सहभागिता रहेको प्रतियोगितामा विदेशी खेलाडीले उपाधि जित्नुले नेपालगन्ज म्याराथनको प्रतिस्पर्धात्मक स्तर र अन्तर्राष्ट्रिय आकर्षण थप बढाएको छ। यसले नेपाली धावकहरूलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्दै आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसरसमेत प्रदान गरेको छ।
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले प्रतियोगिताले नेपालगन्जको खेलकुद पहिचानलाई थप उचाइ दिएको बताउनुभयो। उहाँले म्याराथन खेलकुद प्रतियोगितामा मात्र सीमित नभई स्वास्थ्य, पर्यटन प्रवर्द्धन र सामाजिक एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको जनाउनुभयो।
उहाँका अनुसार हरेक वर्ष आयोजना हुँदै आएको नेपालगन्ज म्याराथनले देश तथा विदेशका धावकलाई एउटै मञ्चमा जोड्दै नेपालगन्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको गन्तव्यका रूपमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
१२औँ संस्करणमा पहिलोपटक विदेशी धावकले उपाधि जितेसँगै यस वर्षको नेपालगन्ज म्याराथन थप ऐतिहासिक बनेको छ। केन्याली धावकको जितले आगामी संस्करणमा नेपाली र विदेशी धावकबीचको प्रतिस्पर्धा अझ रोचक हुने अपेक्षा गरिएको छ।









