कोहलपुर नगरपालिका–३, मदनचोकमा अवस्थित कोहलपुर बागेश्वरी ई.मि. स्कुल प्रालिले बिहिबार एक विशेष मोटिभेशन कार्यक्रम सम्पन्न गरेको छ ।
“मोटिभेशनले जीवनमा सकारात्मक सोच, आत्मविश्वास र लक्ष्यप्रति दृढ संकल्प जगाई सफलता प्राप्त गर्ने बाटो प्रशस्त खुलाउने विश्वासका साथ” कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा विद्यार्थीहरूको मनोबल अभिवृद्धि, सकारात्मक सोचको विकास, आत्मविश्वास वृद्धिसँगै लक्ष्यप्रति दृढ संकल्प जगाउन प्रेरणा दिने उद्देश्य रहेको विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख वक्ता तथा “मोटिभेशन स्पिकर छत्रप्रसाद ज्ञवालीले आफ्नो प्रेरणादायी सम्बोधनमा जीवनमा सफलता प्राप्त गर्न आवश्यक सकारात्मक सोच, आत्मविश्वास, मेहनत र धैर्यका विषयमा विशेष जोड दिनु भयो । उहाँले भन्नुभयो— “मोटिभेशनले मात्र होइन, निरन्तर अभ्यास र अनुशासनले जीवनलाई सफल बनाउँछ। प्रत्येक विद्यार्थीले आफ्नो लक्ष्य पहिचान गरी त्यसतर्फ समर्पित भएर अघि बढ्न जरुरी छ।”
विद्यार्थीहरूलाई उत्साहित बनाउने खालका विभिन्न संस्मरण, अनुभव र व्यावहारिक उदाहरणहरू प्रस्तुत गर्दै ज्ञवालीले लक्ष्यप्रति दृढ संकल्प गर्न सकेमा कुनै पनि कठिनाइलाई सजिलै पार गर्न सकिने धारणा राख्नुभयो । साथै उहाँले भन्नुभयो— “मोटिभेशन भनेको केवल भाषण सुन्नु मात्र होइन, यसलाई जीवनमा व्यवहारमा उतार्न सक्नु नै सफलताको आधार हो । हरेक विद्यार्थीले आफ्नो लक्ष्य पहिचान गरी त्यसतर्फ निरन्तर प्रयत्न गर्न जरुरी छ ।
विद्यालय प्रशासनले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस किसिमका शैक्षिक, सांस्कृतिक र व्यक्तित्व विकासमूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले प्राप्त प्रेरणा र ज्ञानले आफ्नो पढाइमा थप उत्साह ल्याउने बताए। विद्यालयका शिक्षक–शिक्षिकाले यस किसिमका कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकासमा ठुलो टेवा पुग्ने धारणा व्यक्त गर्नु भयाे ।