कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा लिंगो ल्याइयो

  • नमस्ते कर्णाली

  • ४, असोज २०८२
    कर्णाली ।शुक्रबार कर्णालीकै प्रसिद्ध चन्दननाथ-भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका-३, रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याइएको छ।यस मन्दिरमा हरेक वर्ष घटस्थापनाका दिन लिंगो गाड्ने परम्परा लामो समयदेखि चलिआएको छ।

    विशेषगरी, प्रत्येक दिन पूजा पाठ हुने यस मन्दिरमा हप्ताको एकपटक विशेष पूजा हुने गर्दछ। चन्दननाथ नगरपालिका -५ कास्थानीय अगुवा चित्रलाल श्रेष्ठले तीन वटा लिंगो गाड्ने परम्परा विक्रम संवत् १४९८ सालदेखि चलिआएको बताए।उनले भने, “हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन लिंगो तान्ने रित प्राचीनकालदेखि नै चलिआएको छ। सरकारी कर्मचारी, नेपाली सेना, प्रहरी र स्थानीय दलित समुदायले आ-आफ्ना लिंगो घटस्थापनाका दिन मन्दिरमा गाड्ने प्रथा रहिआएको छ।”समयसँगै परम्परा केही फेरिए पनि अहिले सेना, प्रहरी, स्थानीय भक्तजन र युवाहरूले लिंगो ल्याउने गरेका छन्।अघिल्ला वर्षहरूमा सरकारी कर्मचारी, स्थानीय क्षेत्रीहरू, सेनाले “पल्टन लिंगो”, ब्राह्मण समुदायले “थपला लिंगो” र दलित समुदायले “कमसला लिंगो” ल्याउने चलन थियो। तर, केही वर्षयता यी परम्परागत विधिहरूमा कमी आएको देखिएको छ।”चन्दनाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार, स्थानीयले जंगलबाट लिंगो ल्याउन छोडेपछि नेपाली सेना र प्रहरीको सहयोग लिनुपरेको हो।लिंगो गाड्ने परम्परा स्थानीयहरूका लागि विशेष पर्वकै रूपमा मनाइन्छ, जसका लागि कर्णाली प्रदेश सरकारले सरकारी बिदा दिने गरेको छ।पछिल्लो समय अत्यधिक वन फडानी हुन थालेपछि मन्दिरमा हरेक वर्ष फेरिने लिंगा पाइन छाडेकाे स्थानीय बताउँछन्।

    लिंगाे बनाउने रुख खोज्न निकै टाढा जानुपरेको देखिन्छ।’पहिले गाउँ नजिकै प्रशस्त रुख पाइने भएकाले लिंगा बनाउने रुख खोज्न टाढा जानु पर्दैनथ्यो,’ चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले भने, ‘अहिले निकै टाढा जानुपर्ने अवस्था छ । हाम्रो संस्कृतिअनुसार हालिनुपर्ने लिंगा बनाउने रुख पाइनै मुस्किल भइसक्यो ।’चन्दननाथ मन्दिरका लागि ५२ हातको दुई लिंगा र भैरवनाथका लागि ४८ हातको लिंगो हाल्ने चलन छ ।’अहिले न लिंगा बनाउने रुख भेटिन्छ, न त लिंगा ल्याउने भक्तजनहरु नै,’ प्रमुख आचार्यले थपे, ‘जंगलमा ठूला रुख भेटिँदैनन् । साना रुखको लिंगा हाल्दा काम चल्दैन । ’पहिलेका मानिसहरु लिंगा हातहातमा राखेर खलंगाको चन्दननाथ भैरवनाथ मन्दिर सम्म लिंगा ल्याइपुर्‍याउँथे । बीचमा काँधमा बोकेर ल्याउने चलनको सुरुवात भयो । लिंगा बनाउन जाँदा पहिलो दिन जंगलको पूजा गरिन्छ । त्यहीँ बोको चढाएर मात्र रुख काट्ने चलन छ ।

    लिंगा तान्न पूजापाठ गरेर बाजागाजा सहितको टोली नै जंगल जाने गर्छ ।पहिले लिंगा तान्नमा प्रयोग हुने लठ्ठा (चौंरीका फुर्का) मुगुदेखि ल्याउने गरिन्थ्यो ।बाँध्ने डोरी हुम्लाबाट आइरहन्थ्यो । लिंगा खडा गर्न चाहिने बाबियोका डोरी कालिकोबाट पठाइन्थ्यो । अहिले यी सबै जिल्लाबाट सामानहरु आउन छाडेका छन् । पछिल्लो पुस्ता धर्मकर्मप्रति जिम्मेवार नदेखिएको र पहिलो पुस्ताले धान्दै आएको संस्कार र संस्कृति अँगाल्न नसक्दा समस्या देखिएको जानकारहरु बताउँछन् ।

  • ४ आश्विन २०८२, शनिबार ०९:३१ प्रकाशित

  • Nabintech