सुर्खेत, २० बैशाख ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको बजेट वर्षेनी फ्रिज हुने अवस्थाप्रति कटाक्ष गर्दै जनप्रतिनिधि र कर्मचारीहरूलाई प्रतिबद्ध हुन आग्रह गरेका छन् । शनिबारबाट वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’को दोस्रो संस्करणको उद्घाटन समारोहमा बोल्दै उनले वर्षेनी बजेट फ्रिज हुनु भनेको विकास रोकिनु रहेको दावी गरे ।
‘बजेट फ्रिज हुनु विकास रोकिनु हो । यसलाई सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ,’ उनले भने । कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग असहमत हुँदै उनले विकासक्रम चलिरहेको तर त्यसको गति बढाउन आवश्यक रहेको बताए । ‘समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द भएका छन्, ती ढोका खोल्न अब युवाहरूको साझा आवाज उठ्नुपर्छ,’ उनले आह्वान गर्दै भने ।
उनले कर्णाली वास्तवमा गरिब नभई अपार सम्भावना र प्राकृतिक स्रोतले धनी रहेको जिकिर गर्दै कर्णालीलाई हेर्ने बाह्य दृष्टिकोण गलत रहेको बताए । जोशीले कर्णालीलाई बाहिरबाट गरिब देखाइए पनि भित्र त्यस्तो नरहेको बताए ।
‘कर्णाली खानीमा धनी छ, यहाँ देशकै ठूला र विशेष प्राकृतिक सम्पदा र संरचनाहरू छन्,’ उनले भने, ‘तर गैरसरकारी संस्थाहरूले डोनर ल्याउनकै लागि कर्णालीलाई गरिब भन्दै प्रचार गर्ने प्रवृत्तिले गर्दा यो प्रदेश गरिबीको सूचीमा परेको हो ।’ देशका युवाहरूलाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेको तर त्यसको सही उपयोग हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे ।
युवाहरूलाई विशेषगरी कृषिमा आकर्षित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘स्याउ र सुन्तला खेतीमा युवाहरूलाई जोड्न जरुरी छ । कर्णालीमा उत्पादित तरकारी र फलफूल सड्न दिनु हुँदैन, यसले युवालाई थप निरुत्साहित बनाउँछ ।’










