स्थानीय तहको लगानी भएको स्यार्पु हाइड्रोपावरको व्यवसायीक उत्पादन

  • नमस्ते कर्णाली

  • सुर्खेत, २३ कार्तिक ।

    नेपाल विद्युत प्राधिकरणले स्यार्पु हाइड्रोपावर कम्पनी रुकुमपश्चिमको व्यावसायिक उत्पादनलाई स्वीकृति प्रदान गरेको छ । स्यार्पु हाइड्रोपावर माओवादी नेतृत्वका स्थानीय सरकारहरूको संयुक्त पहलकदमीमा स्यार्पु पावर कम्पनी लिमिटेडमार्फत सम्पन्न देशकै लागि नमुना आयोजना हो । स्थानीय तहको पहिलो निर्वाचनमार्फत रुकुम पश्चिमका सबै स्थानीय तहमा माओवादी जनप्रतिनिधिहरूले स्थानीय सरकारहरूको संयुक्त पहल, सहभागिता र निर्णयका आधारमा २०७५ वैशाख २७ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार २०७५ भदौ ५ गते स्यार्पु पावर कम्पनी लिमिटेड नामको कम्पनी दर्ता गरी स्यार्पु हाइड्रोपावर आयोजनाको कार्यन्वयन सुरु गरिएको थियो । 

    यो स्थानीय सरकारलाई आर्थिक स्रोतमा आत्मनिर्भर बनाउने र रुकुम पश्चिमका जनसमुदायको आम्दानी तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यमा आधारित पहल थियो र आज यसले ऐतिहासिक सफलता हाँसिल गरेको छ ।

    यो आयोजनाका लागि हालसम्म चौरजहारी नगरपालिकाको ६.२९ करोड, सानीभेरी गाउँपालिकाको ४.९६ करोड, बाँफिकोट गाउँपालिकाको २.७९ करोड, आठबिसकोट नगरपालिकाको २.०५ करोड, त्रिवेणी गाउँपालिकाको १.८२ करोड, मुसिकोट नगरपालिकाको ५० लाख, जिल्ला समन्वय समिति रुकुम पश्चिमको ६१.७२ लाख र नेपाल सरकार अर्थ मन्त्रालयको २२ लाख रुपैयाँ शेयर लगानी रहेको छ । 

    व्यावसायिक उत्पादनपछि अब बार्षिक ८ देखि १२ करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ । जुन शेयर लगानीका आधारमा स्थानीय सरकारको आम्दानीमा समावेश हुनेछ । यो आयोजना सम्पन्न गर्न तत्कालीन नेता जनार्दन शर्मा (प्रभाकर), स्थानीय सरकारका जनप्रतिनिधि सञ्चालक समितिका अध्यक्ष धनवीर ओली, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. प्रदीप ओलीको निकै महत्वपूर्ण भूमिका रहेको थियो । 

  • २५ कार्तिक २०८३, मंगलवार १३:०८ प्रकाशित

  • Nabintech