१० औँ राष्ट्रिय खेलकुदमा सहभागी हुने  खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न सुरु

  • नमस्ते कर्णाली

  • सुर्खेत ,२४ कार्तिक ।

    १० ओैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले पहिलो चरणअन्तर्गत छनोट भएका खेलहरूको बन्द प्रशिक्षण सुरु गर्ने भएको छ । परिषद्ले पहिलो चरणमा छनोट गरेका खेलमध्ये ह्याडबल र ब्याडमिन्टनको प्रशिक्षण आइतबार (२२ कार्तिक) देखि सञ्चालन भएका हुन् । 

    आगामी १६ देखि २७ मंसिरसम्म कर्णाली प्रदेशमा आयोजना हुने १० ओैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिएसँगै तयारीका गतिविधिलाई तीव्र पारिएको छ । प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार र सहआयोजक कर्णाली प्रदेश सरकार छन् ।

    पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि १० ओैँ संस्करण आयोजनाको जिम्मेवारी कर्णालीले पाएको थियो । तर, पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना हुन नसक्दा हालसम्म पाँच पटक मिति सारिसकिएको छ । यसपटक तोकिएकै मितिमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको छ ।

    राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै खेलाडीको क्षमता अभिवृद्धि, खेल कौशलमा सुधार तथा प्रतिस्पर्धात्मक तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले बन्द प्रशिक्षण सञ्चालन गर्न लागिएको परिषद्ले जनाएको छ । प्रतियोगितामा कर्णाली प्रदेशको सहभागिता र नतिजालाई प्रभावकारी बनाउने लक्ष्यसहित परिषद्ले विभिन्न खेलका खेलाडीलाई चरणबद्ध रूपमा बन्द प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ । पहिलो चरणमा छनोट भएका अन्य खेलको प्रशिक्षणसमेत क्रमशः सुरु गरिने जनाइएको छ ।

  • २५ कार्तिक २०८३, मंगलवार १३:११ प्रकाशित

  • Nabintech