१४, असोज २०८२
बाँके ।बाँकेको राप्ती सोनारी गाउँपालिकामा १९औँ विश्व रेविज दिवसको अवसर पारेर १८४ वटा घरपालुवा कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाइएको छ। गाउँपालिकाले असोज ६ गतेदेखि सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियानमार्फत पालिकाका सबै ९ वटै वडाका घरपालुवा कुकुरलाई निःशुल्क खोप लगाइएको हो।
कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटनपश्चात पालिकाका प्राविधिक टोलीले एक साता गाउँ-गाउँ पुगेर १७३ वटा कुकुरलाई खोप लगाएका थिए। त्यसपछि आइतबार गाउँपालिका कार्यालयमा आयोजना गरिएको अन्तिम दिन छुटेका थप ११ वटा कुकुरलाई खोप लगाइएपछि कुल १८४ कुकुरलाई खोप लगाइएको हो।
गाउँपालिकाको पशु शाखा प्रमुख तथा पशु विकास अधिकृत जयबहादुर कार्कीका अनुसार पछिल्लो समय गाउँघरमा कुकुर पाल्नेको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। उहाँले यस प्रवृत्तिसँगै रेविज संक्रमणको सम्भावना पनि बढ्ने भएकाले नियमित खोप कार्यक्रमलाई निरन्तरता दिन जरुरी भएको बताउनुभयो।
“कुकुरमा रेविज खोप नलगाउँदा मानवीय स्वास्थ्यमा समेत खतरा पुग्ने भएकाले यस अभियानलाई निरन्तरता दिनुपर्छ,” कार्कीले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा गाउँपालिकाले खोपसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि सशक्त रूपमा अघि बढाउने तयारी गरेको छ।
रेविज नियन्त्रणका लागि स्थानीय तहको यस्तो सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयवासीले पनि निरन्तर खोप कार्यक्रमलाई स्वागत गरेका छन्। नियमित खोप र जनचेतनासँगै रेविज रोग नियन्त्रणमा ठोस उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरिएको छ।