२७, असोज २०८२
बाँके ।बाँकेमा प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले कमान्ड सम्हालेसँगै जुवा, यौन धन्दा र आपराधिक सञ्जालविरुद्ध कठोर कारबाही सुरु गरेका छन्।
साउन २३ गते नेपालगञ्जस्थित होटल मौरीमा जुवा खेलिरहेका १४ जनालाई पक्राउ गरिएको दुई दिनपछि प्रहरीले थप ठूलो अपरेसन सञ्चालन गर्दै आपराधिक गतिविधिमा संलग्न समूहहरूलाई कडा सन्देश दिएको हो।
एसपी जिसीको निर्देशनमा नेपालगञ्जका मिलन कटेज, रिभर साइड होटल र भेरी कर्णाली होटलमा एकैपटक विशेष अपरेसन चलाइएको थियो। सो क्रममा ३१ महिला र १४ पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पक्राउ परेकामध्ये धेरैजसो भारतीय नागरिक रहेका छन् र उनीहरूले नेपालगञ्जलाई सीमावर्ती ‘हब’ का रूपमा प्रयोग गर्दै आएको आशंका गरिएको छ। प्रहरीले घटनास्थलबाट विभिन्न प्रमाण सङ्कलन गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रहरीको यो अभियानले लामो समयदेखि मौलाइरहेका जुवा, यौन धन्दा र अवैध कारोबार नियन्त्रणमा ठोस कदम चालेको स्थानीयबासीहरूले बताएका छन्। एक स्थानीयले भने, “पहिले यस्ता काम खुलेआम चल्थे, अहिले प्रहरीले देखाएको दृढताले अपराधीहरू त्रसित भएका छन्।”
एसपी जिसीको सक्रियता र दृढ नेतृत्वका कारण बाँकेमा सुरक्षाप्रतिको जनविश्वास बढेको जनाइएको छ। स्थानीयबासीहरूले यो अभियान निरन्तर चलिरहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।