तिहारको झिलिमिलीमा चम्कियो सद्भावको शहर नेपालगन्ज, आन्तरिक आगन्तुक पनि मुग्ध

  • नमस्ते कर्णाली

  • ६, कार्तिक २०८२

    बाँके ।सद्भाव र सहअस्तित्वको प्रतीक मानिने नेपालगन्ज यतिबेला तिहारको झिलिमिली बत्तीले बेहुलीझैँ सजिएको छ। नेपालीहरूको प्रमुख चाड तिहारको अवसरमा बाँके जिल्ला, विशेषगरी नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा घरघर, पसल, व्यापारिक मलदेखि सडक र सरकारी कार्यालयसम्म रङ्गीन बत्ती, फूल र माला लगाएर आकर्षक रूपमा सजावट गरिएको छ।

    साँझपख झिलिमिली बत्तीले सिंगो शहर उज्यालो र रमणीय बनेको छ। कतै रङ्गीन एलईडी बत्तीहरूले सडकहरू झिलिमिली बनाएका छन् भने कतै फूलमालाले पसलका ढोकाहरू र घरका छानाहरू आकर्षक बनाएका छन्। स्थानीय बासिन्दाले दीपावलीको अवसरमा परम्परागत रूपमा दीप प्रज्वलन गर्दै चाडको उल्लासमा सहभागी भएका छन्।

    नेपालगन्जको मुख्य बजार क्षेत्र ताहाचल, बीपी चौक, त्रिवेणी चोक र गणेशपुरतर्फ रातभर चहलपहल बढेको छ। झिलिमिली बत्तीहरूको दृश्य हेर्न आउनेहरू बीच फोटो खिच्ने र भिडियो बनाउन व्यस्तता देखिन्छ।

    कोहलपुरबाट नेपालगन्ज झिलिमिली हेर्न आएका स्थानीय दिपक परियार भन्छन्, “नेपालगन्ज तिहारमा साँच्चिकै जादुमय देखिन्छ, यस्तो दृश्य गाउँमा पाइँदैन।”
    त्यस्तै, अर्की आगन्तुक सरिता थापा बताउँछिन्, “यहाँको झिलिमिली बत्तीले तिहारको रौनक अझै बढाएको छ, शहरलाई मानौँ उज्यालोले अँगालो हालिदिएको जस्तो अनुभूति हुन्छ।”


    तिहारको झिलिमिलीले एकातिर नेपालगन्जलाई रङ्गीन र आकर्षक बनाएको छ भने अर्कातिर यसले सामाजिक सद्भाव, पारिवारिक मेलमिलाप र आर्थिक चहलपहललाई पनि बलियो बनाएको छ।
    नेपालगन्जका व्यापारीहरूका अनुसार झिलिमिलीको प्रभावले बजारमा किनमेल गर्ने भीड उल्लेखनीय रूपमा बढेको छ।

  • ७ कार्तिक २०८२, बिहीबार १०:३८ प्रकाशित

  • Nabintech