१२, माघ २०८२
सुर्खेत ।सुर्खेत र सल्यानका मध्यवर्ती क्षेत्रका बासिन्दा पछिल्लो समय बाघको बढ्दो आतंकले चरम त्रासमा बाँच्न बाध्य भएका छन् । संरक्षणको नाममा बाघको संख्या बढ्दै गए पनि व्यवस्थापन कमजोर हुँदा मानव–वन्यजन्तु द्वन्द्व गम्भीर समस्याका रूपमा उभिएको छ । पछिल्ला केही दिनमै बाघको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको छ भने हिंस्रक बाघ अझै नियन्त्रणमा आउन सकेको छैन ।
गएको २३ पुसमा सुर्खेतको भेरीगंगा नगरपालिका–५, गेरुवानीकी ५७ वर्षीया गंगा सारु घाँस काट्न नजिकैको जंगल गएकी थिइन् । उनी घर फर्किन सकिनन् । नातिनीहरूले घर नजिकै जंगलमा रगतको टाटो देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोजीमा खटिएको नेपाल प्रहरी, नेपाली सेना, वन कर्मचारी र स्थानीय जनप्रतिनिधिको टोलीले उनको शव छतविक्षत अवस्थामा फेला पारेको थियो ।
स्थानीयका अनुसार आक्रमण गर्ने बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको हो । गेरुवानी गाउँ निकुञ्जसँग जोडिएको शक्ति सामुदायिक वन क्षेत्रमा पर्छ, जहाँ जंगल र बस्तीबीच कुनै स्पष्ट सिमाना छैन । यही भूगोलले यहाँको जीवन सधैं जोखिमसँग गाँसिएको छ ।
यो घटना सेलाउन नपाउँदै २६ पुसमा सल्यानको कालिमाटी गाउँपालिका–७ की ४२ वर्षीया धनसरी रावत पनि बाघको आक्रमणमा परेर ज्यान गुमाइन् । त्यसको तीन दिनपछि २९ पुसमा कालिमाटी–८ मा घट्टमा पिठो पिस्न गएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको पनि बाघले आक्रमण गरी हत्या गर्यो । बस्तीमै पुगेर मानिसमाथि आक्रमण गर्ने उक्त नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन ।
लगातारका यी घटनाले बाघको आक्रमण संयोग नभई गम्भीर संकट बन्दै गएको संकेत गर्छ । स्थानीय बासिन्दा बालबालिकालाई विद्यालय पठाउन, घाँस–दाउरा गर्न, खेतबारीमा जानसमेत डराउन थालेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलका अनुसार नरभक्षी बाघ नियन्त्रणका लागि निकुञ्जको टोली परिचालन गरिएको छ । ड्रोन प्रविधिबाट निगरानी गर्दै डार्ट गरेर नियन्त्रणमा लिन प्रयास भए पनि अहिलेसम्म सफलता मिलेको छैन । निकुञ्जको उत्तरी क्षेत्रस्थित भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका सात वडा मध्यवर्ती क्षेत्रमा पर्छन् । यस क्षेत्रमा यसअघि पनि बाघले तीन जनाको ज्यान लिइसकेको छ ।
भेरीगंगा नगरपालिका–५ का स्थानीय गंगबहादुर घर्ती भन्छन्, “पहिले राति मात्र देखिने बाघ अहिले दिउँसै जंगल आसपास देखिन थालेको छ । एक्लै घरबाट निस्कन डर लाग्छ, बालबालिकालाई विद्यालय पठाउँदा मन काँप्छ ।” वडा अध्यक्ष प्रेमबहादुर सारुमगरका अनुसार बाघले मानिस मात्र होइन, घरपालुवा जनावरमाथि पनि आक्रमण गरिरहेको छ ।
स्थानीयका लागि बाघको आतंक नयाँ होइन । २०७९ सालमा पनि यही गेरुवानीमा दुई जनाको ज्यान बाघको आक्रमणबाट गएको थियो । त्यसयता गेरुवानी, छिञ्चु, लेकपराजुल र चेपाङ क्षेत्रका बासिन्दा निरन्तर त्रासमा बाँचिरहेका छन् । जंगलबाट आउने सानो आवाजले पनि तर्सिनुपर्ने अवस्था बनेको छ ।
निकुञ्जको तथ्यांक अनुसार विगत ३० वर्षमा बाघको आक्रमणबाट ३३ जनाले ज्यान गुमाइसकेका छन् । सन् २०२२ को गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ छन् । सुर्खेत मध्यवर्ती क्षेत्रका करिब १,८३३ घरधुरीमा बसोबास गर्ने ९,९२५ जनसंख्या कुनै न कुनै रूपमा जंगली जनावरको आतंक व्यहोर्न बाध्य छ ।
खेती र पशुपालन पनि विस्थापनको संघारमा
बाघ र अन्य जंगली जनावरको कारण यहाँका प्रमुख खाद्यबाली—धान, मकै, गहुँ, आलु, अदुवा, पिडालु—र पशुपालन व्यवसाय पनि संकटमा परेका छन् । भेरीगंगा–५ लेखहात्तिखालका मिलन वली भन्छन्, “वर्षेनी २५–३० वटा पशुचौपाय बाघले मार्छ, लगाएको अन्नबाली भित्र्याउन सकिँदैन । राहतको कुरा सुनिन्छ, तर अहिलेसम्म केही पाएका छैनौं ।”
नगरपालिकाले गरायो ध्यानाकर्षण
बाघको आतंक बढ्दै गएपछि भेरीगंगा नगरपालिकाले बर्दिया राष्ट्रिय निकुञ्जको ध्यानाकर्षण गराएको छ । नगर प्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले निकुञ्ज कार्यालयमा ज्ञापनपत्र बुझाउँदै मानव–वन्यजन्तु द्वन्द्व रोक्न तत्काल र दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।
नगरपालिकाले अतिजोखिमयुक्त बस्ती स्थानान्तरण, मध्यवर्ती क्षेत्र स्थानीय तहलाई हस्तान्तरण, मृतक परिवारलाई उचित क्षतिपूर्ति, एक सदस्यलाई रोजगारी, सुरक्षित तारवार, नियमित गस्ती, चेतावनी प्रणाली (साइरन) जडान र बाघको संख्या व्यवस्थापन जस्ता माग अघि सारेको छ ।
स्थानीय सरकार र नागरिकको चेतावनी स्पष्ट छ—यदि राज्यले मानव सुरक्षालाई प्राथमिकता दिएर संरक्षण नीति सुधार गरेन भने, निकुञ्ज र मध्यवर्ती क्षेत्रका नागरिकबीचको दूरी अझ बढ्नेछ र संरक्षणविरोधी गतिविधि बढ्ने खतरा रहनेछ ।










