बाजुरा — हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा साबिक बिछ्या गाविस अन्तर्गत हाल वडा नं. १, २ र ३ का दुर्गम बस्तीहरूमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ३०० भन्दा बढी नागरिक लाभान्वित भएका छन्। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त शिविरले आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।

MDGP डाक्टरसहितको स्वास्थ्यकर्मी टोलीले शिविरमा स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले जानकारी दिएका छन्। उनका अनुसार शिविरमा विशेषगरी नसर्ने रोगहरूको पहिचान र रोकथाममा जोड दिइएको थियो।
शिविरका क्रममा १४८ जनामा दम, मुटुरोग, मृगौला समस्या, मधुमेह (सुगर) लगायतका नसर्ने रोगहरूको स्क्रिनिङ गरिएको थियो। त्यस्तै, ६२ महिलामा VIA विधिबाट पाठेघरको मुखको क्यान्सरको सम्भावित जोखिम परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

महिला स्वास्थ्य सेवातर्फ पनि शिविर प्रभावकारी देखिएको छ। इम्प्लान्ट, IUCD जस्ता परिवार नियोजनका साधनहरूको सेवा प्रदान गर्नुका साथै पाठेघर खसेको समस्याको उपचार समेत गरिएको थियो। यसैगरी, १४ जनाको प्रयोगशाला मार्फत क्षयरोग परीक्षण गरिएको आयोजकले जनाएको छ।
हिमाली गाउँपालिकाको स्वास्थ्य शाखाले दुर्गम बस्तीहरूमा नियमित रूपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउँदै आएको स्थानीयको भनाइ छ। स्वास्थ्यकर्मीहरूको सक्रियता र प्रतिबद्धताका कारण गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै गएको देखिन्छ।
कार्यक्रममा सहभागी भई सेवा प्रदान गर्ने डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।ि












