कोहलपुरमा निशुल्क आँखा शिविरले ल्यायो उज्यालो—मोतिविन्दुका बिरामी उपचारपछि खुसी

  • नमस्ते कर्णाली

  • १४,चैत २०८२
    बाँके। बाँके जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा पछिल्लो समय मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ। विभिन्न स्थानमा सञ्चालन हुँदै आएका निःशुल्क आँखा उपचार शिविरमा पनि यस्ता बिरामीको उल्लेख्य उपस्थिति देखिन थालेको छ।
    नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पताल का अनुसार, गत वर्ष जिल्लाका विभिन्न पालिकामा सञ्चालन गरिएका निःशुल्क आँखा शिविरमा ठूलो सङ्ख्यामा मोतिविन्दुका बिरामी भेटिएका थिए। चालु वर्षमा पनि यस्ता बिरामीको सङ्ख्या अझै बढ्दो क्रममा रहेको जनाइएको छ।
    हाल कोहलपुर नगरपालिका मा सञ्चालन भइरहेको निःशुल्क आँखा जाँच शिविरमा ८९५ जनाले सेवा लिएका छन्। तिलगङ्गा आँखा प्रतिष्ठान र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा तीन दिनसम्म सञ्चालन गरिएको उक्त शिविरमा १६९ जना बिरामीलाई मोतिविन्दुको शल्यक्रियाका लागि छनोट गरिएको नगर प्रमुख पूर्ण आचार्यले जानकारी दिए।
    त्यसैगरी, वडा नं. ४ स्थित रझेना स्वास्थ्य चौकीमा ३५५ जनाले सेवा लिएका थिए, जसमध्ये २२५ महिला र १३० पुरुष रहेका छन्। यहाँबाट ६९ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ। वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २७४ जनाले सेवा लिँदा ५८ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको जनाइएको छ।
    शिविरमा सेवा लिएका कोहलपुर–४ निवासी एक बिरामीले उपचारपछि खुसी व्यक्त गर्दै भने, “पहिले त राम्रोसँग देख्नै सक्दिनँथें, काम गर्न पनि गाह्रो थियो। अहिले उपचार पाएपछि आँखामा उज्यालो फर्किएको जस्तो लाग्यो, धेरै राहत मिल्यो।”
    यस्तै अर्का एक सेवाग्राहीले पनि आफ्नो अनुभव सुनाउँदै भने, “निःशुल्क जाँच र शल्यक्रियाको व्यवस्था भएपछि हामीजस्ता गरिबलाई ठूलो सहयोग भएको छ। अब फेरि सजिलै दैनिक काम गर्न सक्ने भएको छु, निकै खुसी छु।”
    नगर प्रमुख आचार्यका अनुसार, यस्ता निःशुल्क आँखा शिविरहरूले ग्रामीण तथा सहरी क्षेत्रका आँखासम्बन्धी समस्याबाट पीडित नागरिकलाई सहज सेवा प्रदान गर्नुका साथै उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
    कोहलपुरमा सञ्चालन भइरहेको निःशुल्क आँखा शिविर आगामी चैत १५ गतेसम्म जारी रहने छ। शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको अपरेसन चैत १६, १७ र १८ गते कोहलपुर नगर अस्पतालमा निःशुल्क रूपमा गरिने जनाइएको छ।

  • १४ चैत्र २०८२, शनिबार २२:१५ प्रकाशित

  • Nabintech