नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा वृद्धि : आठ महिनामै ४६ करोडभन्दा बढीको कारोबार

  • नमस्ते कर्णाली

  • १९, चैत २०८२
    बाँके ।पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको आठ महिनामा ४६ करोड रुपैयाँभन्दा बढी मूल्यका जडिबुटी निर्यात भएका छन्। नेपालगन्ज भन्सार कार्यालयका अनुसार यस नाकाबाट हरेक वर्ष जडिबुटी निर्यातमा क्रमिक वृद्धि हुँदै गएको देखिएको छ।
    भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्म १४ लाख २० हजार २९० किलोग्राम विभिन्न प्रकारका जडिबुटी ४६ करोड १३ लाख ५ हजार रुपैयाँ बराबरमा निर्यात गरिएको हो।
    यस वर्ष नेपालगन्ज नाकाबाट सल्लाको आँखला पहिलो पटक निर्यात सुरु गरिएको छ। सो अवधिमा ३९ हजार ६४९ किलोग्राम सल्लाको आँखला १९ लाख ३९ हजार रुपैयाँ मूल्यमा निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।
    यद्यपि, जडिबुटी व्यवसायी संघ बाँकेका अनुसार सल्लाको आँखलामा १०० प्रतिशत निकासी कर लाग्ने भएकाले यसको निर्यात अपेक्षाकृत कम भएको छ। संघका अध्यक्ष टंकप्रसाद शर्माले निकासी कर घटाइएमा यसको निर्यात उल्लेख्य रूपमा वृद्धि हुन सक्ने बताउनुभयो।
    नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख जडिबुटीमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी र अमला रहेका छन्। अध्यक्ष शर्माका अनुसार नेपालबाट निर्यात हुने जडिबुटीमध्ये करिब ८५ प्रतिशत हिस्सा भारततर्फ जाने गरेको छ।
    सरकारले जडिबुटी निर्यातमा सहुलियत नीति ल्याएमा यस क्षेत्रबाट देशको अर्थतन्त्रमा थप योगदान पुग्ने सरोकारवालाहरूको अपेक्षा रहेको छ।

  • १९ चैत्र २०८२, बिहीबार ०८:१७ प्रकाशित

  • Nabintech