बर्दिया राष्ट्रिय निकुञ्जको स्वर्ण जयन्ती: पर्यटनमा उत्साह, व्यवसायमा उछाल तर वन्यजन्तुको त्रास कायमै

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    १९, चैत २०८२
    बर्दिया राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती मनाउने तयारी तीव्र पारिएको छ। विसं २०३२ साल फागुन २५ गते स्थापना भएको निकुञ्जले पाँच दशक पूरा गरेसँगै यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उत्साह थपिएको छ भने स्थानीय अर्थतन्त्र पनि क्रमशः सुदृढ बन्दै गएको छ। तर अर्कोतर्फ वन्यजन्तुको त्रास भने सर्वसाधारणका लागि चुनौतीकै रूपमा कायम छ।
    निकुञ्जको स्वर्ण जयन्ती यही चैत २७ गते मुख्यालय परिसरमा भव्य रूपमा मनाउने तयारी गरिएको छ। समारोहलाई सफल बनाउन वरिष्ठ संरक्षण अधिकृतदेखि पूर्व वार्डेन रमेश कुमार थापा, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त आचार्य, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे लगायतको नेतृत्वमा १२ वटा उपसमिति गठन गरिएको निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए।
    स्वर्ण जयन्तीका अवसरमा निकुञ्ज परिसरभित्र स्मारक निर्माण, स्मारिका प्रकाशन, श्रव्य–दृश्य सामग्री उत्पादन, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता तथा स्थानीय कला–संस्कृति झल्कने नाचगान र झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालका अनुसार कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन तयारी तीव्र पारिएको छ।
    निकुञ्ज स्थापना भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै होटल, होमस्टे, गाइड सेवा, सवारी साधन र अन्य सेवा व्यवसाय फस्टाउँदै गएका छन्। ठाकुरबाबा नगरपालिका–५ का होटल व्यवसायी रामप्रसाद थारुले भने, “निकुञ्जकै कारण हाम्रो व्यवसाय चलेको छ। पछिल्ला वर्षमा पर्यटक बढ्दै गएकाले आम्दानी पनि बढेको छ, स्वर्ण जयन्तीले अझ प्रचार–प्रसार हुने अपेक्षा गरेका छौं।”
    तर स्थानीय बासिन्दाले वन्यजन्तुको जोखिम पनि उत्तिकै भोगिरहेका छन्। विशेषगरी हात्ती, गैँडा र बाघको बस्तीमा प्रवेशका कारण जनधनको क्षति हुने समस्या अझै समाधान हुन सकेको छैन। स्थानीय किसान सीता चौधरी भन्छिन्, “निकुञ्जले विकास त ल्यायो, तर राति बाली जोगाउनै समस्या छ। वन्यजन्तुको त्रासले खेतीपाती गर्न गाह्रो भइरहेको छ।”
    स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन निकुञ्ज प्रशासन, नेपाली सेना, डब्लु डब्लु एफ , जेडएसएल लगायतका निकायहरूले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएका छन्।
    इतिहासतः २०३२ सालमा शाही कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापना भएको यस क्षेत्र २०४१ सालमा शाही बर्दिया वन्यजन्तु आरक्ष, २०४५ सालमा शाही बर्दिया राष्ट्रिय निकुञ्ज र २०६२/६३ को जनआन्दोलनपछि हालको नाम बर्दिया राष्ट्रिय निकुञ्ज राखिएको हो।
    पाँच दशकको यात्रामा संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको निकुञ्ज अब स्थानीयको जीवनस्तर सुधार र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणतर्फ अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

  • १९ चैत्र २०८२, बिहीबार ०८:४२ प्रकाशित

  • Nabintech