२१, चैत २०८२
बाँके । नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (NELTA) बाँके शाखाको आयोजनामा १६औँ वार्षिक साधारण सभा (AGM) तथा जिल्ला सम्मेलन २०२६ कोहलपुरस्थित ज्ञान बहुमुखी क्याम्पसमा भव्य रूपमा सम्पन्न भएको छ। “Innovative Practices and Professional Growth in ELT” मूल नारासहित आयोजित कार्यक्रममा जिल्लाभरका ६० भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम NELTA बाँके शाखाका अध्यक्ष प्रमोद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्णप्रसाद आचार्य सहभागी हुनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिहरूमा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक इश्वरीप्रसाद बि.क., NELTA लुम्बिनी प्रदेश अध्यक्ष गोपालप्रसाद बस्याल, ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ, NELTA बाँकेका सल्लाहकार तथा NELTA लुम्बिनीका वरिष्ठ उपाध्यक्ष होमराज खड्का तथा NELTA दाङका अध्यक्ष दामोदर गिरीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्णप्रसाद आचार्यले अङ्ग्रेजी भाषा शिक्षण क्षेत्रमा NELTA ले पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले शिक्षण प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधि (ICT) र कृत्रिम बुद्धिमत्ता (AI) को समुचित प्रयोग आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि यस्ता प्रविधिको उपयोग अपरिहार्य भएको धारणा राख्नुभयो। साथै, स्थानीय तह र पेशागत संस्थाबीच सहकार्य सुदृढ गरी शिक्षकहरूको क्षमता विकासमा थप लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
विशिष्ट अतिथि इश्वरीप्रसाद बि.क.ले शिक्षकहरूको पेशागत विकास नै समग्र शिक्षा सुधारको आधार भएको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले शिक्षकहरूलाई व्यवहारिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि स्थानीय तहले NELTA सँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

सम्मेलन अन्तर्गत सञ्चालन गरिएका कार्यशाला तथा शैक्षिक सत्रहरूमा गोपालप्रसाद बस्याल, होमराज खड्का, प्रमोद सुवेदी, सञ्जिव कुमार सींघल, बिन्दु सुवेदी र शिवशरण उपाध्यायले प्रस्तुती दिएका थिए। उनीहरूले नविन शिक्षण विधि, कक्षाकोठा व्यवस्थापन, ICT तथा AI को प्रयोगजस्ता समसामयिक विषयमा केन्द्रित प्रस्तुतिहरूमार्फत सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेका थिए।

त्यसैगरी, वार्षिक साधारण सभा अन्तर्गत संस्थाको वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफलसहित अनुमोदन गरिएको थियो। आगामी कार्ययोजना तथा संगठन सुदृढीकरणका विषयमा समेत सहभागीहरूबीच रचनात्मक विचार आदानप्रदान भएको थियो।
कार्यक्रमको सञ्चालन भिम प्रसाद खरेलले गर्नुभएको थियो। सहभागी शिक्षकहरूले कार्यक्रमलाई समयसापेक्ष, ज्ञानमूलक र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।











