प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षण, सुष्मा कोईराला मेमोरियल क्याम्पसमा देशभरबाट विद्यार्थीको भीड

  • नमस्ते कर्णाली

  • बाँके ,८बैशाख ।
    नेपालमा पछिल्लो समय प्राविधिक शिक्षाप्रति विद्यार्थीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। अध्ययनपछि छिटो रोजगारीको अवसर प्राप्त हुने र व्यावहारिक सीप हासिल गर्न सकिने भएकाले यो शिक्षा दिनप्रतिदिन लोकप्रिय बन्दै गएको हो।
    बाँकेमा वि.सं. २०५३ सालदेखि सञ्चालनमा रहेको सुष्मा कोईराला मेमोरियल क्याम्पस यस क्षेत्रको अग्रणी प्राविधिक शिक्षालयका रूपमा स्थापित भएको छ। क्याम्पसमा देशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू अध्ययनका लागि आउने क्रम बढ्दो छ।
    क्याम्पस प्रशासन प्रमुख चन्दा शाहीका अनुसार दार्चुला, अछाम, बाजुरा, सुर्खेत, जाजरकोट, डडेलधुरा, जुम्ला लगायत ४० भन्दा बढी जिल्लाबाट विद्यार्थीहरू यहाँ अध्ययनका लागि आउने गरेका छन्। विद्यार्थी संख्या निरन्तर बढ्दै गएपछि क्याम्पसले आरक्षण व्यवस्था समेत लागू गरेको उहाँले जानकारी दिनुभयो।
    नेपालगन्जमा आयोजित एचए तेस्रो वर्षका विद्यार्थीहरूको बिदाइ कार्यक्रममा क्याम्पस प्रमुख रञ्जन ढुंगानाले विगत तीन दशकमा क्याम्पसले २ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको बताउनुभयो। तीमध्ये करिब ७० प्रतिशत सरकारी सेवामा कार्यरत रहेको उहाँको भनाइ छ।
    उहाँका अनुसार प्रारम्भिक चरणमा प्राविधिक शिक्षाप्रति रुचि कम भए पनि समयसँगै यसको महत्व बढ्दै गएको छ। गुणस्तरीय शिक्षाका लागि क्याम्पसले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको पनि उहाँले उल्लेख गर्नुभयो।
    कार्यक्रममा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन सुनारले प्राविधिक जनशक्ति राष्ट्रका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। भेरी प्राविधिक शिक्षालयका शिक्षक सन्जीव पूर्बेले स्वास्थ्य सेवा संवेदनशील र जिम्मेवारीपूर्ण क्षेत्र भएकाले यसमा इमान्दारी अनिवार्य हुने धारणा राख्नुभयो।
    क्याम्पस संयोजक ललिता बस्नेतले विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित र सेवामुखी बन्न आग्रह गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए।
    एचए तेस्रो वर्षका विद्यार्थी सन्तोष मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य समिक्षा थापाले राख्नुभएको थियो भने सञ्चालन दिपिका शाही, आयुश रेग्मी, दिपीका थारु र कैलाश न्यौपानेले गर्नुभएको थियो।
    प्राविधिक शिक्षाप्रति बढ्दो आकर्षणले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

  • ८ बैशाख २०८३, मंगलवार ०६:४४ प्रकाशित

  • Nabintech