बाँके, ११ बैशाख ।
बाँकेको जानकी गाउँपालिकामा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ । यस क्षेत्रमै पहिलोपटक देखिएको घटनाले ग्रामीण स्वास्थ्य सेवाको कमजोर अवस्थालाई उजागर गरेको छ । गत चैत २८ गते मृत्यु भएकी ती महिला करिब पाँच महिनादेखि बिरामी थिइन् । उपचारका लागि उनले स्थानीय स्वास्थ्य चौकी, निजी क्लिनिक हुँदै भारतको बहराइचसम्म पुगे पनि रोगको समयमै पहिचान हुन सकेन । अन्ततः भेरी अस्पतालमा परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भए पनि उपचार ढिलो भइसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफसको उपचारका लागि आवश्यक औषधि सस्तो र सहजै उपलब्ध हुने भए पनि समयमै परीक्षण र पहिचान नहुँदा ज्यान गुम्नु परेको हो । जानकी गाउँपालिका–५ बेलहारी स्वास्थ्य चौकीकी इन्चार्ज गंगा मरासिनीले गाउँपालिकामा अस्पताल सञ्चालनमा नआउनु र प्रयोगशाला सेवाको अभाव प्रमुख समस्या रहेको बताए । “बिरामीहरू समयमै पहिचान नहुँदा अन्तिम अवस्थामा मात्रै ठूला अस्पताल पुग्छन्” उनले भने ।
घटनापछि प्रकोप अनुसन्धानका क्रममा भेरी अस्पतालका प्राविधिकको सहयोगमा मृतकका परिवार तथा स्थानीयवासीहरूको रगत नमुना संकलन गरी परीक्षणका लागि पठाइएको छ । स्वास्थ्य संयोजक दलबहादुर रानाले हाल एक वडामा मात्र प्रयोगशाला सेवा सीमित हुनु चिन्ताजनक भएको बताउँदै अन्य वडामा पनि सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्थानीयवासीहरूले सामान्य जाँचकै अभावमा ज्यान गुम्नु परेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आधारभूत स्वास्थ्य सेवा विस्तारमा तत्काल ध्यान दिन माग गरेका छन् । वडा नं. ५ का अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले घटनाप्रति दुःख व्यक्त गर्दै आधारभूत प्रयोगशाला सेवा विस्तारका लागि पहल सुरु गरिएको जानकारी दिए । उनले स्रोत, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमार्फत स्वास्थ्य सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहमा समयमै रोग पहिचान र उपचारको पहुँच सुनिश्चित गर्न नसकिए यस्ता दुःखद घटना दोहोरिन सक्ने देखिएको छ ।










