बाँके, १३ बैशाख ।
बढ्दो गर्मी र तातो हावाको प्रभावका कारण बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा जनजीवन उल्लेख्य रूपमा प्रभावित बनेको छ । पछिल्लो एक सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि दैनिक गतिविधिहरूमा प्रत्यक्ष असर देखिन थालेको हो ।
बिहान ९ बज्न नपाउँदै घाम अत्यधिक चर्किन थालेपछि बजार क्षेत्रदेखि ग्रामीण बस्तीहरूसम्म सुनसानजस्तै देखिन थालेका छन् भने सर्वसाधारणको हिँडडुलमा पनि कमी आएको छ । स्थानीयवासीका अनुसार केही दिनअघिसम्म सहज रूपमा बाहिरी काम गर्न सकिने अवस्था रहे पनि अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझबाहेक अन्य समयमा घरबाहिर निस्कनै कठिन भएको छ ।
नेपालगञ्जका स्थानिय अनुज थापाले “दिउँसो त धूप नै बले जस्तो हुन्छ, काम गर्नै सकिँदैन” भन्दै बढ्दो तापक्रमले जीवनयापन कष्टकर बनाएको बताए । सबैभन्दा बढी मार दैनिक ज्यालादारी गर्ने मजदुर वर्गमा परेको छ । निर्माण क्षेत्रमा काम गर्ने मजदुर रामलाल थारू भन्छन्, “पहिला त बिहानदेखि बेलुकीसम्म काम गर्थ्यौं, अहिले दिउँसो घामले सहनै नसक्ने हुन्छ, केही घण्टा मात्रै काम गरेर बस्नुपर्छ ।” त्यस्तै अर्का मजदुर दिलबहादुर परियारले पनि आम्दानी घटेको गुनासो गर्दै भने, “गर्मीका कारण काम गर्न सकिँदैन, काम नगरे पैसा आउँदैन, घर चलाउनै गाह्रो भएको छ ।”
अटो रिक्सा चालकहरू पनि उत्तिकै समस्यामा छन् । अत्याधिक गर्मीका कारण सवारी चलाउन जाँगर नआउने र यात्रु समेत कम हुने हुँदा आम्दानी घटेको उनीहरूको भनाई छ । सामान्यतया भीडभाड रहने बजारका मुख्य चोकहरूमा समेत अटो रिक्साको उपस्थिति पातलो देखिन थालेको छ । विद्यालयहरू सत्र समाप्तिका कारण बन्द रहेकाले बालबालिकाहरू घरमै सीमित भएका छन्, जसले बाहिरी गतिविधि अझ घटाएको छ ।
यसैबीच मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी केही दिन मध्यम स्तरको तातो लहर (हिट वेभ) चल्ने चेतावनी दिएको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर, रुपन्देहीलगायतका जिल्लाहरू बढी प्रभावित हुने जनाइएको छ ।
स्वास्थ्यविद्हरूले अत्यधिक गर्मीबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. उमेश ढुङ्गानाका अनुसार शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस तथा झोल पदार्थ सेवन गर्नु अत्यावश्यक हुन्छ । “दिउँसोको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कनु, बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउने र हल्का सुतीका कपडा लगाउने गर्नुपर्छ,” उनले सुझाव दिए । असामान्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिन पनि उनले आग्रह गरे ।
त्यस्तै छालारोग विशेषज्ञ डा. अस्मिता गौतमका अनुसार अत्याधिक गर्मीका कारण छाला पोल्ने, सुख्खा हुने, एलर्जी र घमौरा आउने समस्या बढ्ने गरेको छ । उनले प्रशस्त पानी पिउन, सुतीका कपडा प्रयोग गर्न र घाममा अनावश्यक रूपमा नहिँड्न सुझाव दिइन् । साथै नेत्र विशेषज्ञहरूले पनि घाम र धुलोका कारण आँखा पोल्ने समस्या बढ्न सक्ने भएकाले सनग्लासको प्रयोग गर्न र आँखा सुरक्षित राख्न आग्रह गरेका छन् ।
समग्रमा, बढ्दो तापक्रम र तातो हावाले पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा स्वास्थ्य सतर्कता अपनाउनु र सरकारी निकायबाट प्रभावकारी पूर्वतयारी गर्नु अत्यावश्यक देखिएको छ ।










