बाँके ,२१ बैशाख ।
बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको चौँथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेलमा जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको छ । वैशाख १९ गतेबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई ४–२ गोल अन्तरले हराउँदै जस्ट जोन एफसी (नाइजेरिया) विजयी भएको हो ।
वैशाख २० गते कोहलपुर–२ स्थित कोहलपुर फुटबल रंगशालामा दुई टोलीबीच खेल भइरहेका बेला खराब मौषमका कारण ३७औ मिनेटमा स्थगित भएको थियो । खेल वर्षाले स्थगित जस्ट जोन एफसी (नाइजेरिया) १–० गोलले अघि थियो । २९औँ मिनेटमा जस्ट जोन एफसीका जर्सी नम्बर ९ का हम्जात डिमोलाले गोल गरेका थियो । २१ गते विहान भएको खेलमा ४–२ गोल अन्तरले जस्ट जोन एफसी (नाइजेरिया) ले जित हासिल गरेको हो । जस्ट जोन एफसी (नाइजेरिया) लाई जिताउन दोस्रो हाफको ४७औँ मिनेटमा जर्सी नम्बर १० अब्दुल्लाजीजले गोल गर्दै २–० गोलको अग्रता दिलाए । ४९औँ मिनेटमा रोयल फुटबल क्लब (कर्णाली) का जर्सी नम्बर ७ का सन्दिप देउवाले जवाफी गोल फर्काए । लगत्तै ५२औँ मिनेटमा जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २९ का ओवालाही अफिजले गोल अन्तर ३–१ मा पु¥याए । ५५औँ मिनेटमा गोल गर्दै रोयल फुटबल क्लब (कर्णाली) का जर्सी नम्बर ७७ का विक्रम ओलीले गरेपछि गोल अन्तर ३–२ बन्यो । खेलको अन्तिम तिर ९० मिनेटमा गोल गर्दै जस्ट जोन एफसी (नाइजेरिया) का जर्सी नम्बर २७ का ताजुदिन एडीले जित सुनिश्चित गराए ।

खेलको म्यान अफ द म्याच बनेका जस्ट जोन एफसी (नाइजेरिया) हम्जात डिमोलाले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याच लुम्बिनी खेलकुद परिषद् सदस्य जनक केसी, कोहलपुर डेन्टल हस्पिटलका प्रबन्धक गजेन्द्र शाही र कोहलपुर गोल्डकपका अतिथि सत्कार संयोजक प्रकाश खड्काले संयुक्त रुपमा वितरण गरेका थिए । गोल्डकपको पहिलो दिनको उद्घाटन खेलमा कोहलपुर रेसिङ सहारा क्लबले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । २६ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु. ८ लाख र उपविजेताले रु. ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सञ्चालन भइरहेको छ ।










