खेल संयोजक सूर्यमणि अधिकारीका अनुसार प्रतियोगितामा देशभरका १८ विद्यालयका एक सयभन्दा बढी खेलाडीको सहभागिता सुनिश्चित भइसकेको छ। प्रतियोगितामा ८, १०, १२, १४, १७ वर्ष र सोभन्दा माथिका उमेर समूहका छात्र तथा छात्राबीच २४ विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने छ।
प्राविधिक संयोजक चन्द्रराम चौधरीका अनुसार ८ र १० वर्षमुनिका खेलाडीहरूले २५ मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् भने सोभन्दा माथिका उमेर समूहले ५० मिटर र १०० मिटर दूरीमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। खेलाडीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाइ गरी चार विधामा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
नेपालगन्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा काठमाडौं, ललितपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया र सुर्खेतलगायत विभिन्न जिल्लाका विद्यालयहरूको सहभागिता रहने जानकारी दिनुभयो।
यसअघि शिखा एकेडेमी कोहलपुरले गत वर्ष नेपालगन्ज स्वीमिङ क्लबको समन्वयमा प्रथम शिखा अन्तरविद्यालय पौडी प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो। विद्यालयले विगत चार वर्षदेखि १२.५ देखि २५ मिटर लम्बाइको पौडी पोखरी सञ्चालन गर्दै विद्यार्थीहरूलाई नियमित रूपमा पौडी प्रशिक्षण दिँदै आएको छ।
उक्त विद्यालयले गत वर्ष सम्पन्न बाँके जिल्लास्तरीय तथा लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुका साथै राष्ट्रिय स्तरको प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। आगामी प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै पौडी खेलको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।










