खाता करिडोरमा ‘कृत्रिम गन्ध’ प्रविधि परीक्षण : बाघ–चितुवासँगको द्वन्द घटाउने नयाँ प्रयास

  • नमस्ते कर्णाली

  • बर्दिया ,३ जेठ ।
    भारतको कर्तनीयाघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा परिचित खाता वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको आक्रमण बढ्दो बन्दै गएको छ। मानव बस्ती नजिकसम्म वन्यजन्तु पुग्ने क्रम तीव्र भएपछि स्थानीयवासी त्रसित बनेका छन्। यही चुनौतीलाई मध्यनजर गर्दै अहिले खाता क्षेत्रमा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न “कृत्रिम गन्ध संकेत” प्रविधिको परीक्षण सुरु गरिएको छ।
    डिभिजन वन कार्यालयको सहकार्य, खाता सामुदायिक वन समन्वय समितिको समन्वय तथा तराई भूपरिधि संरक्षण कार्यक्रमको सहयोगमा सुरु गरिएको यो प्रविधि नेपालमै पहिलोपटक खाता जैविक मार्ग क्षेत्रमा परीक्षण भइरहेको हो। अफ्रिकी मुलुकहरूमा सफल भइसकेको यो विधि नेपालमा पनि प्रभावकारी भए मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।
    खाता वन क्षेत्रलाई मानव–वन्यजन्तु द्वन्दका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। बाघ, चितुवा, हात्ती लगायतका वन्यजन्तु पटक–पटक गाउँ बस्तीमा प्रवेश गर्ने र पशुचौपाया तथा मानवमाथि आक्रमण गर्ने घटनाले स्थानीयवासी वर्षौंदेखि त्रसित छन्। यस्ता घटनालाई कम गर्न गत वर्षदेखि नै नयाँ गन्ध प्रविधिको पाइलट परीक्षण सुरु गरिएको थियो भने यस वर्ष थप व्यवस्थित रूपमा परीक्षण विस्तार गरिएको छ।
    खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङका अनुसार मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न नयाँ प्रविधिको खोजी आवश्यक भएकाले गन्ध संकेत प्रविधिलाई प्राथमिकताका साथ अघि बढाइएको हो। उनका अनुसार खाता करिडोर जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र भएकाले वन्यजन्तुको संरक्षणसँगै स्थानीयको सुरक्षालाई समेत ध्यान दिन जरुरी छ।
    हाल जङ्गलभित्र ३० वटा विभिन्न स्थानमा कृत्रिम गन्ध संकेत जडान गरिएको छ। दुईवटा स्वचालित क्यामराको बीचमा पर्ने गरी जडान गरिएका संकेतहरूको प्रभाव क्यामेरामार्फत निरन्तर अनुगमन भइरहेको छ। बाघ तथा चितुवाले ती क्षेत्रमा देखाउने गतिविधि भिडियोमार्फत अध्ययन गरी प्रविधिको प्रभावकारिता मूल्याङ्कन गरिने बताइएको छ।
    तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरतप्रसाद भट्टका अनुसार परीक्षणको मुख्य उद्देश्य वन्यजन्तुको प्राकृतिक व्यवहारलाई उपयोग गरेर उनीहरूलाई मानव बस्तीमा प्रवेश गर्न नदिनु हो। उनले वन्यजन्तुको गतिविधि, आवागमन र व्यवहारलाई वैज्ञानिक ढंगले अध्ययन गर्दै दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको जानकारी दिए।


    विशेषज्ञहरूका अनुसार बाघ तथा चितुवाले आफ्नो क्षेत्र निर्धारण गर्न पिसाबमार्फत गन्ध संकेत प्रयोग गर्छन्। एउटा बाघले आफ्नो आधार क्षेत्र निर्धारण गरेपछि अर्को बाघले त्यही गन्ध महसुस गरेर त्यो क्षेत्र अरूको इलाका भएको बुझ्ने र धेरैजसो अवस्थामा अगाडि नबढी फर्किने गर्छ। यही प्राकृतिक प्रणालीलाई आधार बनाएर कृत्रिम गन्ध प्रविधि विकसित गरिएको हो।
    तराई भू–परिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाहका अनुसार प्रयोग गरिएको गन्धमा कुनै हानिकारक रसायन समावेश छैन। यो पूर्ण रूपमा सुरक्षित भएकाले मानव, पशुचौपाया वा वातावरणमा कुनै नकारात्मक असर नपर्ने उनले बताए। उनका अनुसार वन्यजन्तुलाई हानि नगरी उनीहरूको गतिविधि नियन्त्रण गर्ने यो प्रविधि संरक्षणमैत्री उपायका रूपमा हेरिएको छ।
    बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढी प्रभावित क्षेत्रमध्ये एक मानिन्छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानविय तथा आर्थिक क्षति हुने गरेको छ। यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीयवासीमा आशा जगाएको छ।
    यदि खाता करिडोरमा भइरहेको यो परीक्षण सफल भयो भने आगामी दिनमा गाउँ बस्ती नजिकै समेत कृत्रिम गन्ध संकेत राखेर बाघ तथा चितुवाको प्रवेश रोक्न सकिने विश्वास गरिएको छ। यसले मानव–वन्यजन्तु द्वन्द घटाउने मात्र नभई संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • ३ जेष्ठ २०८३, आईतवार ११:३२ प्रकाशित

  • Nabintech