अर्गानिक पहिचान जोगाउन जुम्लामा ‘विषादी प्रयोगमुक्त’ अभियान, मार्सीधानको विश्वसनीयता बचाउन जोड

  • नमस्ते कर्णाली

  • जुम्ला ,२१ जेठ ।

    नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएको एक दशकपछि जुम्लाले आफ्नो मौलिक कृषि पहिचान जोगाउने नयाँ अभियान थालेको छ। उत्पादन वृद्धि र बजारमुखी खेतीको दबाबसँगै खेतबारीमा रासायनिक विषादीको प्रयोग बढ्न थालेपछि अर्गानिक जिल्लाको छवि नै चुनौतीमा परेपछि कृषि विकास कार्यालय जुम्लाले ‘विषादी प्रयोगमुक्त’ सप्ताह अभियान सुरु गरेको हो।
    कर्णाली प्रदेश सरकारको कृषिजन्य उपजमा विषादी प्रयोग न्यूनीकरण कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको अभियान बुधबार सिंजा गाउँपालिका–३ नराकोटबाट सुरु भएको हो। कृषि विकास कार्यालयको आयोजनामा तथा गाउँपालिकाको समन्वयमा सुरु गरिएको अभियान २५ गतेसम्म सञ्चालन हुनेछ।
    पछिल्ला वर्षहरूमा स्याउ, जुम्ली मार्सीधान तथा तरकारी बालीमा रोग र किराको प्रकोप नियन्त्रणका नाममा रासायनिक विषादीको प्रयोग बढ्दै गएको कृषि क्षेत्रका सरोकारवालाहरू बताउँछन्। तत्काल उत्पादन जोगाउन प्रयोग गरिने विषादीले दीर्घकालमा माटोको उर्वराशक्ति घटाउने, पानीका स्रोतहरू प्रदूषित गर्ने, जैविक विविधता नष्ट गर्ने तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने जोखिम बढाएको छ।
    कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले अर्गानिक जिल्ला घोषणा गरिए पनि व्यवहारमा अझै लुकिछिपी विषादी प्रयोग भइरहेकाले सचेतना र नियन्त्रण दुवै आवश्यक रहेको बताए। “अर्गानिक भन्ने नामले मात्रै पुग्दैन, व्यवहारमा पनि त्यसलाई पुष्टि गर्नुपर्छ,” उनले भने, “उत्पादन बढाउने नाममा विषादीको प्रयोग बढ्दै जाँदा जुम्लाको मौलिक पहिचान नै संकटमा पर्न सक्छ।”
    उनका अनुसार रासायनिक विषादीको विकल्पका रूपमा प्राङ्गारिक मल, वनस्पतिजन्य जैविक विषादी तथा एकीकृत कीरा व्यवस्थापन प्रणालीलाई किसानस्तरसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ।
    जुम्लाको कृषि अर्थतन्त्रमा मार्सीधानको विशेष महत्व छ। कृषि विकास कार्यालयका अनुसार जिल्लामा मार्सीधानसँगै चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ जातका धान खेती गरिन्छ। कृषि अनुसन्धान केन्द्रले चन्दननाथ–१ र ३ सिफारिस गरिसकेको छ भने मार्सी–१८, २० र २२ परीक्षण चरणमा रहेका छन्।
    जुम्ली मार्सी चामलबाट मात्रै वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको छ। यस वर्ष ६ हजार १ सय २५ मेट्रिकटन उत्पादन भएको छ भने अघिल्लो वर्ष ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन भएको थियो। उत्पादन २.३ प्रतिशतले वृद्धि भए पनि खेती गरिएको क्षेत्रफल घटेर २ हजार ८८ हेक्टरमा सीमित भएको कृषि कार्यालयको तथ्यांक छ।
    कृषि विज्ञहरूका अनुसार जुम्ली मार्सीको बजार मूल्य र उपभोक्तामाझ स्थापित विश्वासको मुख्य आधार यसको अर्गानिक छवि हो। विषादीको प्रयोग बढ्दै जाने हो भने उत्पादन बढे पनि बजारमा निर्माण भएको विश्वास कमजोर हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।
    यही जोखिमलाई ध्यानमा राख्दै कृषि विकास कार्यालयले चालु आर्थिक वर्षमा ‘जुम्ली मार्सीधान उत्पादन विशेष नमुना क्षेत्र कार्यक्रम’ सञ्चालन गरेको छ। चन्दननाथ नगरपालिका, तातोपानी, हिमा र सिंजा गाउँपालिकामा लागू गरिएको उक्त कार्यक्रमका लागि ८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
    त्यसैगरी पातारासी र तातोपानी गाउँपालिकामा मार्सीधान बिउ उत्पादन स्रोत केन्द्र स्थापना तथा विकास कार्यक्रम सञ्चालन भइरहेको छ। १० लाख रुपैयाँ बजेट रहेको कार्यक्रममार्फत किसानलाई तालिम, प्राविधिक सहयोग, रोग नियन्त्रणसम्बन्धी जानकारी, बिउ, सिटबिन, त्रिपाल, मिनिटिलर तथा थ्रेसर मेसिन वितरण गरिएको छ। साथै प्राङ्गारिक मल उत्पादन र कम्बाइन मिल स्थापना गर्ने कार्यसमेत अघि बढाइएको कृषि कार्यालयले जनाएको छ।
    सप्ताहव्यापी अभियानअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहका किसानहरूसँग अन्तरक्रिया, छलफल गोष्ठी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सडक नाटकमार्फत विषादी प्रयोगका असर र सुरक्षित खेतीका उपायबारे सन्देश प्रवाह गरिने कार्यक्रम रहेको छ।
    अभियानको अन्त्यमा किसानका अनुभव, सिकाइ र प्रतिबद्धता संकलन गरी विषादीमुक्त कृषि प्रणाली विस्तारका लागि थप योजना अघि बढाइने कृषि विकास कार्यालयले जनाएको छ। अर्गानिक पहिचानले राष्ट्रिय बजारमा स्थापित गरेको विश्वासलाई कायम राख्दै दिगो कृषि प्रणाली विकास गर्ने लक्ष्यसहित जुम्लाले विषादीमुक्त खेतीतर्फ नयाँ कदम चालेको छ।

  • २१ जेष्ठ २०८३, बिहीबार १४:४१ प्रकाशित

  • Nabintech