शिक्षकहरुद्वारा एआईको सही प्रयोगसम्बन्धी प्रतिबद्धता जारी

  • नमस्ते कर्णाली

  • नेपालगञ्ज,३० जेठ ।

    बाँकेको जानकी गाउँपालिकाका शिक्षकहरूले संभवतः नेपालमै पहिलो पटक ‘शिक्षणमा एआईको प्रयोगसम्बन्धी १६ बुँदे प्रतिबद्धतापत्र’ जारी गरेका छन्।
    शिक्षण–सिकाइमा कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित, सिर्जनशील र जिम्मेवार प्रयोग गर्ने प्रतिबद्धतासहित जारी गरिएको प्रतिबद्धतापत्रमा तथ्य प्रमाणीकरणपछि मात्रै एआईबाट प्राप्त सामग्री प्रयोग गर्ने उल्लेख छ ।
    त्यसैगरी शिक्षण तथा मूल्याङ्कनको अन्तिम जिम्मेवारी स्वयं बहन गर्ने, विद्यार्थीमा एआई साक्षरता, आलोचनात्मक सोच र सिर्जनशीलता विकास गर्ने, गोपनीयता र डेटा सुरक्षाको ख्याल गर्ने, प्रतिलिपि अधिकार र शैक्षिक इमानदारी कायम राख्ने, एआई प्रयोग गरिएको तथ्य पारदर्शी रूपमा उल्लेख गर्ने प्रतिबद्धता जनाएका छन्।
    प्रतिबद्धतापत्रमा शिक्षकहरूले एआईलाई शिक्षकको विकल्प नभई सहयोगी साधनका रूपमा प्रयोग गर्ने, विद्यालयमा एआईसम्बन्धी नीति, आचारसंहिता र कार्यविधि निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने विषय पनि समेटिएका छन्।
    त्यस्तै सहकर्मी शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय समुदायमा एआईसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, प्रविधिको विकाससँगै आफूलाई निरन्तर अद्यावधिक गर्दै आजीवन सिकाइको संस्कृतिलाई आत्मसात गर्ने र मानव मूल्य, नैतिकता तथा विद्यार्थीको सर्वोत्तम हितलाई केन्द्रमा राखेर एआई प्रयोग गर्ने साझा संकल्प पनि प्रतिबद्धतापत्रमा व्यक्त गरिएको छ।
    मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेको आयोजना तथा जानकी गाउँपालिका बाँकेको आर्थिक सहयोगमा यही जेठ २७ देखि २९ गतेसम्म नेपालगञ्जमा सञ्चालन भएको तीन दिने एआई सम्बन्धी आधारभूत तालिमको समापनसँगै उक्त प्रतिबद्धतापत्र जारी गरिएको हो।


    तालिममा गाउँपालिकाभित्रका ४५ जना प्रधानाध्यापक, शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको आयोजक संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेका अध्यक्ष आलम खानले जानकारी दिनुभयो ।
    तालिममा पत्रकार, अध्यापक तथा एआई अध्येता एवं अभ्यासकर्ता जीवन भण्डारीले पाठ योजना निर्माण, प्रस्तुतीकरण, प्रश्नपत्र तयारी, विद्यार्थी मूल्याङ्कन, अध्ययन सामग्री विकासलगायतका कार्यमा उपयोगी १० भन्दा बढी एआई टुल्सको प्रयोगात्मक अभ्यास गराउनुभएको थियो। साथै एआईको सही र जिम्मेवार प्रयोग, शिक्षा क्षेत्रमा आवश्यक आचारसंहिता तथा मापदण्ड र सम्भावित अवसर तथा चुनौतीबारे समेत विस्तृत जानकारी दिनुभएको थियो।
    तालिममा पत्रकार डक्ट प्रसाद धितालले एआईको परिभाषा, अवधारणा र आधारभूत विषयमा सहजीकरण गर्नुभएको थियो।
    समापन समारोहका प्रमुख अतिथि तथा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले कृत्रिम बुद्धिमत्ता आधुनिक शिक्षाको महत्वपूर्ण उपकरण भएको उल्लेख गर्दै यसको सही, सुरक्षित र सिर्जनात्मक प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले आफू पनि तालिममा सहभागी भएर नयाँ ज्ञान र सीप हासिल गरेको अनुभव सुनाउँदै विद्यालयस्तरमा एआईको सकारात्मक प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।


    त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख झुमी कुमारी वलीले एआई अब आवश्यकता मात्र नभई अनिवार्यता बन्दै गएको उल्लेख गर्दै सबै शिक्षकले समयानुकूल सीप विकास गर्नुपर्ने धारणा राख्नुभयो।
    तालिममा सहभागीहरूले सिकेका विषय अत्यन्त व्यवहारिक, उपयोगी र समयसापेक्ष रहेको प्रतिक्रिया दिएका थिए। सहभागी शिक्षिका विमला रावतले “नसिक्दासम्म हामी अर्कै संसारमा थियौँ, सिकेपछि अहिले अर्कै संसारमा आएको जस्तो अनुभव भएको छ,” भन्दै एआईले शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। अर्का सहभागी उमेश सोनखरले तालिमबाट प्राप्त ज्ञानले कक्षाकोठामा नवीन प्रविधिको प्रयोग गर्न थप प्रेरणा मिलेको बताउनुभयो।


    नेपालको विद्यालय शिक्षा क्षेत्रमा शिक्षकहरूबाट औपचारिक रूपमा एआईको सुरक्षित, नैतिक र जिम्मेवार प्रयोगसम्बन्धी सामूहिक प्रतिबद्धता सार्वजनिक भएको यो पहललाई सहभागीहरूले ऐतिहासिक र अनुकरणीय कदमका रूपमा वर्णन गरेका छन्।

  • ३० जेष्ठ २०८३, शनिबार ०९:०० प्रकाशित

  • Nabintech