बढैयातालमा विपद् सचेतना नमूना अभ्यास सम्पन्न, आगलागी नियन्त्रणका उपायबारे व्यावहारिक प्रदर्शन

  • नमस्ते कर्णाली

  • बाँके ,३१ जेठ ।
    बर्दियाको बढैयाताल गाउँपालिकामा विपद् व्यवस्थापन तथा विपद्बाट जोगिने उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सचेतनामूलक नमूना अभ्यास सम्पन्न गरिएको छ। गाउँपालिकामा सञ्चालन गरिएको पूर्वानुमानमा आधारित पूर्वकार्य तथा कार्यढाँचा निर्माण सम्बन्धी तीनदिने तालिमको समापनका अवसरमा उक्त अभ्यास गरिएको हो।
    नमूना अभ्यासका क्रममा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा बल बढैयाताल–२ जमुनीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर थापासहितको प्राविधिक टोलीले ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई अचानक आगलागी भएको अवस्थामा त्यसलाई सुरक्षित र प्रभावकारी रूपमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा व्यावहारिक प्रदर्शन गरेको थियो। सशस्त्र प्रहरी बलको बीओपी कन्ठपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र पालको कमान्डमा खटिएको टोलीले उक्त अभ्यास सञ्चालन गरेको हो।
    विपद् व्यवस्थापन समितिका फोकल पर्सन रमेश पौडेलका अनुसार विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धारका प्रारम्भिक उपाय तथा जोखिम न्यूनीकरणका विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्देश्यले सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा नमूना अभ्यास प्रदर्शन गरिएको हो।
    बी–ग्रुप नेपालकी फिल्ड सुपरभाइजर बिनिता परियारका अनुसार बढैयाताल गाउँपालिकाको आयोजना, बी–ग्रुप नेपाल तथा सामुदायिक प्रहरीको समन्वय र सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा मैनापोखरका दुई स्थान तथा जय कालिका माध्यमिक विद्यालय, मुनालबस्ती गरी तीन स्थानमा नमूना अभ्यास सञ्चालन गरिएको थियो।

    बढैयाताल गाउँपालिकाको आयोजना, बी–ग्रुप नेपालको समन्वय तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा जेठ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको पूर्वानुमानमा आधारित पूर्वकार्य एवं कार्यढाँचा निर्माण सम्बन्धी तीनदिने तालिमसमेत सम्पन्न भएको छ। तालिमले स्थानीय तहमा विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्य क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, कार्यपालिका सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक अच्युत गिरी, बीओपी कन्ठपुर मातहतका जमुनी, फुटाहा, सानोडाँफे र मानखोला सशस्त्र प्रहरी पोस्टका इन्चार्जसहितका सुरक्षाकर्मी, विभिन्न शाखाका प्रमुख तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • ३१ जेष्ठ २०८३, आईतवार ०८:२० प्रकाशित

  • Nabintech