बाँके ,८ असार ।
सामुदायिक वनहरू केवल वन संरक्षण र व्यवस्थापनमा मात्र सीमित नरही पछिल्लो समय सामाजिक उत्तरदायित्वका विभिन्न कार्यमा समेत सक्रिय हुन थालेका छन्। वनबाट प्राप्त आम्दानीलाई विकास निर्माण, विपद् तथा राहत सहयोग, क्षमता अभिवृद्धि र समुदायका आवश्यकतामा लगानी गर्न थालेपछि स्थानीय तहमा सकारात्मक प्रभाव देखिन थालेको सरोकारवालाहरू बताउँछन्।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताका अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूले वन संरक्षणलाई प्राथमिकतामा राख्दै आम्दानीको एक हिस्सा सामाजिक तथा सामुदायिक विकासमा खर्च गर्न थालेका छन्। यसले वनप्रतिको अपनत्व बढाउनुका साथै समुदायको जीवनस्तर सुधारमा समेत योगदान पुर्याएको छ।
बाँकेको शमशेरगञ्ज क्षेत्रमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक तथा जनहितका कार्यलाई प्राथमिकता दिएका छन्। सोही क्रममा समूहहरूले शमशेरगञ्ज सब–डिभिजन वन कार्यालय परिसरमा सेवाग्राहीको सुविधाका लागि गोलघर निर्माण गरेका छन्। गोलघर निर्माण भएपछि सेवा लिन आउने स्थानीय तथा उपभोक्तालाई प्रतिक्षा र छलफलका लागि सहज वातावरण उपलब्ध भएको छ।
वैज्ञानिक वन व्यवस्थापन समितिका अध्यक्ष कृष्ण केसीले सामुदायिक वनको आम्दानीलाई समुदायमै प्रतिफल दिने उद्देश्यले यस्ता पूर्वाधार निर्माणका काम गरिएको बताउनुभयो। उहाँका अनुसार वन संरक्षणसँगै समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
सामुदायिक वनहरूले पूर्वाधार निर्माणमा मात्र होइन, उपभोक्ताको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा सीपमूलक कार्यक्रम सञ्चालनमा समेत लगानी गरिरहेका छन्। विभिन्न तालिम तथा सचेतनामूलक कार्यक्रममार्फत उपभोक्तालाई सशक्त बनाउने प्रयास भइरहेको छ।
त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिकी सचिव सावित्रा ओलीका अनुसार वन्यजन्तुको आक्रमणबाट प्रभावित स्थानीयलाई समूहको कोषबाट राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ। वन संरक्षणमा समुदायको सहभागिता बढाउन र प्रभावित परिवारलाई राहत दिन यस्ता कार्यक्रम प्रभावकारी बनेको उहाँले बताउनुभयो।
दिगो वन व्यवस्थापनको अवधारणालाई आत्मसात् गरेका सामुदायिक वनहरूले पछिल्लो समय उपभोक्तामैत्री र समुदायकेन्द्रित गतिविधिलाई विस्तार गर्दै आएका छन्। वन क्षेत्रमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट दुवै औंला गुमाएका एक वन हेरालुलाई आर्थिक सहयोग प्रदान गरिएको छ भने वन्यजन्तुबाट पीडित अन्य स्थानीयले पनि राहत पाएका छन्। वन्यजन्तु पीडित बाडेलाल बडैले सामुदायिक वनबाट प्राप्त सहयोगले कठिन परिस्थितिमा ठूलो राहत मिलेको बताउनुभयो।
वन र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै सामुदायिक वनहरूले संरक्षण र विकासलाई सँगसँगै अघि बढाउने अभ्यास गरिरहेका छन्। वन जोगाउने मात्र होइन, समुदायको सुख–दुःखमा साथ दिने, स्थानीय आवश्यकता सम्बोधन गर्ने र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानमा बाँकेका सामुदायिक वन उपभोक्ता समूहहरू उदाहरणीय बन्दै गएका छन्। स्थानीय तहको विकास, वातावरण संरक्षण र समुदायको समृद्धिलाई एकसाथ जोड्ने यस्ता प्रयासले सामुदायिक वनको प्रभावकारिता थप उजागर गरेको छ।










