अहिले चलिरहेको फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकप २०२६ मा सबैभन्दा धेरै गोल गर्ने रेकर्डका साथै छैटौं विश्वकपमा उपस्थिति जनाएको रेकर्डसहित मेस्सी यो विश्वकपमा अर्जेन्टिना फुटबल र आफ्ना विश्वभर रहेका करोडौं समर्थकको आशाको केन्द्र बनेका छन् ।
मेस्सीले अगस्ट २००५ मा हंगेरीविरुद्धको खेलमा घाइते खेलाडीको विकल्पको रूपमा अन्तर्राष्ट्रिय डेब्यू गरे । यद्यपि उनको डेब्यू खास हुन सकेन । खेल क्रममा झगडा भएपछि केही मिनेट मै उनलाई मैदान बाहिर पठाइएको थियो ।
मेस्सीको करिअरको सबैभन्दा महत्वपूर्ण क्षण २०२२ मा आएको थियो । जब उनले कतारमा भएको फिफा विश्वकपमा अर्जेन्टिनालाई जित दिलाए । फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गर्दै र पेनाल्टी सुटआउटमा महत्वपूर्ण भूमिका खेल्दै मेस्सीले अर्जेन्टिनालाई विश्व च्याम्पियनको उपाधि दिलाए ।
२०२२ को विश्वकप विजेता र पेलेको क्लब गोल रेकर्ड तोड्ने मेस्सीलाई आधुनिक फुटबल युगको महान फुटबलर मानिन्छ ।
२००८ को बेइजिङ ओलम्पिकमा मेस्सीले अर्जेन्टिनाको स्वर्ण पदक जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । अर्जेन्टिनाको टोलीले नाइजेरियालाई १–० ले हराएर लगातार दोस्रो पटक ओलम्पिक उपाधि जितेको थियो ।
२०२१ को माराकाना स्टेडियममा भएको कोपा अमेरिकाको फाइनलमा मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिलमाथि १–० को जित हासिल गर्दै मेस्सीले कोपा ट्रफी जित्ने आफ्नो लामो समयदेखिको सपना पूरा गरे ।
मेस्सीले आफूलाई आधुनिक युगको सायद महान् फुटबलर सावित गर्ने क्रममा धेरै रेकर्डहरू कायम गरेका छन् । उनले आफ्नो टोलीलाई फिफा २०२६ विश्वकपको राउन्ड अफ ३२ मा पुर्याइसकेका छन् । उनले यो विश्वकपको अस्ट्रियाविरुद्धको खेलमा आफ्नो टोलीका लागि पहिलो गोल गरेपछि विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड तोडेका छन् ।
मेस्सीको जन्म जुन २४, १९८७ मा अर्जेन्टिनाको सान्ता फे प्रान्तको रोसारियोमा भएको थियो । उनी यही सहरमा हुर्किएका हुन् ।
फुटबल मन पराउने घनिष्ठ परिवारमा हुर्केका मेस्सीलाई सानै उमेरदेखि नै खेलप्रति लगाव थियो । उनले आफ्ना दाजुभाइसँग फुटबल खेल्दै पछि व्यावसायिक फुटबलर बने ।
चार वर्षको उमेरमा मेस्सी स्थानीय फुटबल क्लब अबान्डेराडो ग्रान्डोलीसँग सामेल भए, जहाँ उनका बुबाले उनलाई प्रशिक्षण दिएका थिए ।
१३ वर्षको उमेरमा मेस्सी र उनको परिवार स्पेनको बार्सिलोना सरे । जहाँ एफसी बार्सिलोना क्लबले उनको वृद्धि हार्मोनको कमीको उपचार गर्न मद्दत गर्यो । एफसी बार्सिलोनाको यू–१४ टोलीबाट सुरु गर्दै मेस्सीले छिट्टै प्रगति गरे र आफ्नो उत्कृष्ट प्रतिभा र सीपले सबैलाई प्रभावित गरे ।
उनले १७ वर्षको उमेरमा एस्पानियोलविरुद्ध आफ्नो सिनियर क्लब डेब्यू गरे र बार्सिलोना टोलीका लागि एक प्रमुख खेलाडी बने ।
मेस्सीले २००७ मा डिएगो म्याराडोनाको ‘गोल अफ द सेञ्चुरी’ दोहोर्याएर संसारलाई चकित पारे । क्याम्प नोउमा गेटाफेविरुद्धको कोपा डेल रे सेमिफाइनलको क्रममा मेस्सीले छ जना डिफेन्डरहरूलाई ड्रिबल गर्दै अविस्मरणीय गोल गरे ।
उनले १६ अक्टोबर २००४ मा १७ वर्षको उमेरमा बार्सिलोनाका लागि ला लिगामा डेब्यू गरे । आफ्नो १८ औं जन्मदिनमा मेस्सीले सीनियर खेलाडीको रूपमा आफ्नो पहिलो सम्झौतामा हस्ताक्षर गरे जसले गर्दा उनी २०१० सम्म बार्सिलोनामा रहे ।
२००९ मा मेस्सीले आफ्नो पहिलो यूईएफए च्याम्पियन्स लिगको उपाधि जिते । बार्सिलोनाले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको थियो ।
२०२० मा मेस्सीले अर्को कोशेढुङ्गा हासिल गरे । उनले रियल भालाडोलिड विरुद्धको ३–० को जितमा आफ्नो ६४४ औं गोल गरे, जसले गर्दा पेलेको एकल क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड (सान्तोस एफसीका लागि ६४३ गोल) तोडियो ।
बार्सिलोना छोडेपछि मेस्सी २०२१ देखि २०२३ सम्म फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेनमा सामेल भए, जहाँ उनले क्लबका लागि ५८ खेल खेले र २२ गोल गरे ।
२०२३ मा मेस्सी डेभिड बेकह्यामको स्वामित्वमा रहेको इन्टर मियामीमा गए जहाँ उनले अहिलेसम्म १८ खेल खेलेका छन् र १३ गोल गरेका छन् ।









