किसानको आम्दानी बढाउन अदुवा बेसार खेती प्रविधि विस्तार, देशव्यापी अभियान सञ्चालन

  • नमस्ते कर्णाली

  • सल्यान, १२ असार ।

    किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा अदुवा तथा बेसार खेती प्रविधि प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत यस वर्ष देशका ३० भन्दा बढी जिल्लामा एक हजार ५०० भन्दा बढी किसानलाई उन्नत खेती प्रविधिबारे प्राविधिक अभिमुखीकरण गरिएको छ ।

    कार्यक्रमले अदुवा तथा बेसारजस्ता नगदे बालीको उत्पादन वृद्धि, गुणस्तर सुधार र व्यवसायीकरण मार्फत किसानको आम्दानी बढाउने उद्देश्यसहित विभिन्न स्थानमा तालिम, छलफल र स्थलगत अवलोकन गतिविधि सञ्चालन गरेको हो । अनुसन्धान कार्यक्रमका संयोजक डा. घनश्याम भण्डारीका अनुसार अनुसन्धानबाट प्राप्त ज्ञान, प्रविधि र नवीन अभ्यासलाई प्रत्यक्ष रूपमा किसानको खेतबारीसम्म पु¥याउने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको हो ।

    यसैक्रममा सल्यानको त्रिवेणी गाउँपालिका, १ सालिवाङमा हलेदो उत्पादक कृषक समूह गठन गरिएको छ । नौ सदस्यीय समूहको अध्यक्षमा नेत्रप्रकाश पुन, सचिवमा पूर्णिमा बुढाथोकी र कोषाध्यक्षमा अमृता रोका चयन भएको अनुसन्धान कार्यक्रमका प्राविधिक सहायक टेकबहादुर खड्काले जानकारी दिए । यसबाट स्थानीय स्तरमा उत्पादन, समन्वय र प्रविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    त्यस्तै मंगलबार रोल्पाको त्रिवेणी गाउँपालिका, ५ जुँगारमा अदुवा बाली विशेष कृषक दिवस समेत सम्पन्न गरिएको छ । प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कृषि प्राविधिक, सहकारी प्रतिनिधि र किसानबीच अदुवा तथा बेसार खेतीका विविध पक्षमा विस्तृत छलफल गरिएको थियो ।

    सो अवसरमा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा, उपाध्यक्ष लेखमणी डाँगी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण कँडेलसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसँग विशेषगरी कालो बेसार खेतीका सम्भावना, चुनौती र विकासका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा डा. भण्डारीले हाल कालो हलेदोका १५ वटा जातमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै पालिकासँग सहकार्य गरेर प्रविधि प्रवद्र्धन र बजारीकरणका लागि पहल गरिने बताएका थिए ।

    यसैगरी अगुवा किसान तथा सहकारी प्रतिनिधिहरूलाई अदुवा तथा बेसारका उन्नत जात, रोग तथा कीरा व्यवस्थापन, उत्पादन प्रविधि, भण्डारण, प्रशोधन तथा बजारीकरणका विविध पक्षबारे विस्तृत अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा किसानहरूले भोगिरहेका समस्या, चुनौती र समाधानका उपायबारे पनि छलफल गरिएको कार्यक्रमले जनाएको छ ।

    अभिमुखीकरण पछि कृषि वैज्ञानिक तथा प्राविधिक टोलीले किसानका अदुवा खेती गरिएको बारीमा पुगेर स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा बालीको अवस्था, देखिएका रोग तथा कीराको समस्या र सुधार गर्नुपर्ने पक्षबारे किसानसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आवश्यक प्राविधिक सुझाव प्रदान गरिएको थियो ।

    स्थानीय कृषक जीतबहादुर खड्काले यस वर्ष चार क्विन्टल अदुवा र एक क्विन्टल बेसारको बीउ रोपेको जानकारी दिँदै अभिमुखीकरणबाट रोप्ने विधि, बुर्नी निकाल्ने तरिका, रोग तथा कीरा व्यवस्थापन र भण्डारण सम्बन्धी उपयोगी जानकारी प्राप्त भएको बताए । अब सिकेका प्रविधिलाई खेतबारीमा लागू गर्दै अर्काे वर्षदेखि अदुवा तथा बेसार खेती बढी क्षेत्रमा लगाउने र व्यवसायीक रुपमा बढ्ने सोँच बनाएको छु, उनले भने ।

    त्यसैगरी ग्रामीण विकास सहजकर्ता पुष्पा घर्तीले विशेष कृषक दिवसमार्फत अदुवा तथा बेसार खेतीका धेरै प्राविधिक पक्षबारे महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै अब किसानको खेतबारीमै पुगेर व्यवहारिक रूपमा सिकाउने तथा आधुनिक खेती प्रविधि विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    अनुसन्धान कार्यक्रमले इलाम, सिन्धुली, कास्की, अर्घाखाँची, गुल्मी लगायतका ३० बढी जिल्लामा यस प्रकारका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कपुरकोट स्थित अनुसन्धान केन्द्रमा जग्गा सुधार, व्यवस्थापन तथा करिब दुई रोपनी जमिनलाई खेतीयोग्य बनाउने कार्यसमेत सम्पन्न गरिएको कार्यक्रमका संयोजक कृषि बैज्ञानिक डा. भण्डारीले जानकारी दिए । कपुरकोट स्थित अदुवाबाली अनुसन्धान कार्यक्रमको जग्गा सुधार, अन्य व्यवस्थापन देखि दुई रोपनि जमिनलाई खेति योग्य बनाउने सम्मको काम समेत गरिएको उनले बताए ।

    कार्यक्रमले उच्च उत्पादन दिने, रोग प्रतिरोधी र गुणस्तरीय अदुवा तथा बेसारका जातहरूको पहिचान र सिफारिस, बीउ उत्पादन र विस्तार, रोग तथा कीरा व्यवस्थापन तथा प्रविधि विकासका क्षेत्रमा निरन्तर अनुसन्धान गर्दै आएको छ । अदुवा र बेसार बालीसम्बन्धी अनुसन्धान तथा प्रविधि विकास गर्ने देशकै प्रमुख विशिष्टीकृत केन्द्रका रूपमा रहेको यस कार्यक्रमले उत्पादन वृद्धि, गुणस्तर सुधार र व्यवसायीकरण मार्फत किसानको आम्दानी बढाउने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ ।

  • १२ असार २०८३, शुक्रबार ०९:४८ प्रकाशित

  • Nabintech