बाँके ,१९ असार ।
केही वर्षअघिसम्म घुँडाको हड्डीमा जटिल ट्युमर देखिएका बिरामीले उपचारका लागि काठमाडौँ वा भारतका विशेषज्ञ अस्पताल पुग्नुपर्ने बाध्यता थियो। तर अहिले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमै यस्ता जटिल शल्यक्रिया सफलतापूर्वक हुन थालेपछि बिरामीले आफ्नै प्रदेशमा गुणस्तरीय सेवा पाउन थालेका छन्।
अस्पतालले हालै बर्दियाको बढैयाताल गाउँपालिकाका ३० वर्षीय एक युवकको घुँडाको हड्डीमा भएको जटिल ट्युमरको सफल शल्यक्रिया गरेको छ। अस्पतालका कन्सल्टेन्ट अर्थोपेडिक अंको सर्जन डा. गोपाल पौडेलको नेतृत्वमा सम्पन्न शल्यक्रिया अस्पतालका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
ती युवक विगत छ महिनादेखि अस्पतालको नियमित फलोअपमा रहेका थिए। घुँडाको हड्डीमा भएको ट्युमरका कारण उनलाई हिँडडुल गर्नसमेत निकै कठिन भइरहेको थियो। उक्त ट्युमर क्यान्सर नभए पनि अत्यन्त आक्रामक प्रकृतिको हुने र शल्यक्रियापछि पनि पुनः पलाउने सम्भावना रहने भएकाले यसको उपचार चुनौतीपूर्ण मानिन्छ।
डा. पौडेलका अनुसार शल्यक्रियाका क्रममा ट्युमरले असर गरेको हड्डीको भाग निकालेर विशेष प्रकारको कृत्रिम धातु (मेगाप्रोस्थेसिस) प्रयोग गरी घुँडाको जोर्नी पुनः निर्माण गरिएको हो। चिकित्सकीय भाषामा यसलाई टोटल नी रिप्लेसमेन्ट विथ मेगाप्रोस्थेसिस भनिन्छ। करिब चार घण्टा ३० मिनेट लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो।
शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ। उनी अहिले सामान्य रूपमा हिँड्न थालेका छन् भने शुक्रबारसम्म डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
यो सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा गरिएको दोस्रो यस्तै जटिल शल्यक्रिया हो। यसअघि पनि बाँकेको नरैनापुरका २८ वर्षीय एक युवकको घुँडाको हड्डीमा भएको यस्तै प्रकारको ट्युमरको सफल शल्यक्रिया यही अस्पतालमा गरिएको थियो।
यसपटकको शल्यक्रियामा डा. गोपाल पौडेलसँगै भरतपुर क्यान्सर अस्पतालका अर्थोपेडिक अंको सर्जन डा. अरुण सिग्देल, डा. सुरज मण्डल, एनेस्थेसियोलोजिस्ट डा. विवेक पौडेल तथा नर्सिङ स्टाफ टिका शाही, हेमा गहतराज र बविता खनाललगायतको टोली सहभागी रहेको थियो।
डा. पौडेलले यस्ता ट्युमर समयमै पहिचान गरी विशेषज्ञ उपचार गर्न सके बिरामीलाई पुनः सामान्य जीवनमा फर्काउन सकिने बताउनुभयो। खजुरामै यस्तो अत्याधुनिक सेवा उपलब्ध हुन थालेपछि काठमाडौँ वा भारत पुग्नुपर्ने बाध्यता कम हुने, उपचार खर्च घट्ने तथा बिरामी र परिवारमाथिको आर्थिक, मानसिक र सामाजिक भारसमेत कम हुने अपेक्षा गरिएको छ।
अस्पतालमा जटिल क्यान्सर तथा हड्डीसम्बन्धी शल्यक्रिया विस्तार हुँदै जानु लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
[02/07, 6:43 pm] saralasubedi89: उद्यमशीलतामार्फत गरिबी न्यूनीकरणमा जानकी गाउँपालिकाको जोड, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रतिबद्धता
सरला सुवेदी
बाँके,१८ असार ।
गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ उद्यमी सिर्जना, लघुवित्त पहुँच तथा बजारीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारी, वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, जिल्ला समन्वय समितिका सदस्य जुलफेकार मनिहार, कार्यपालिका सदस्यहरू राजेन्द्र सिंह, राम अचल धोबी र कमला देवी यादव, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, उद्यम विकास सहजकर्ता सावित्रा रेग्मी तथा मिलाप संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले लघु उद्यम स्थानीय आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो। सीप, पूँजी र बजारको पहुँच सुनिश्चित गर्न सके गरिबी न्यूनीकरणसँगै रोजगारी सिर्जनामा उल्लेखनीय सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो।
उहाँले गाउँपालिकाले उद्यमशीलतालाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीले उद्यमको दिगोपनाका लागि वित्तीय अनुशासन, बचतको संस्कार र लघुवित्त संस्थासँगको प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। उत्पादनसँगै बजार व्यवस्थापन र व्यावसायिक योजनालाई सुदृढ बनाउन सके उद्यमीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने उहाँले उल्लेख गर्नुभयो।
वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवले स्थानीय स्रोत, सीप र सम्भावनाको अधिकतम उपयोग गर्दै उद्यमशीलतालाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। युवाहरूलाई वैदेशिक रोजगारीभन्दा स्वदेशमै उत्पादनमूलक व्यवसायमा आकर्षित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको धारणा थियो।
योजना शाखा प्रमुख शोभा पौडेलले लघु उद्यम विकास कार्यक्रमले नयाँ उद्यमी उत्पादन गर्नुका साथै उनीहरूको उत्पादनलाई बजारसँग जोड्ने, वित्तीय पहुँच विस्तार गर्ने र आयआर्जन वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो। स्थानीय तह, सरोकारवाला निकाय र उद्यमीबीचको समन्वयले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा मिलाप संस्थाले स्थानीय लघु उद्यमीहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरूको प्रदर्शनीसमेत आयोजना गरेको थियो। प्रदर्शनीमा राखिएका उत्पादनहरूले स्थानीय उद्यमीहरूको सिर्जनशीलता, उत्पादन क्षमता र बजार सम्भावनालाई उजागर गरेको सहभागीहरूले बताएका थिए।
जानकी गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय नागरिकलाई उद्यमशीलतामा आकर्षित गर्ने, उत्पादन वृद्धि गर्ने, रोजगारीका अवसर विस्तार गर्ने र आर्थिक आत्मनिर्भरता सुदृढ बनाउने लक्ष्यका साथ अघि बढिरहेको जनाएको छ।










