पाँच वर्षसम्म बनेन मुगु–हुम्ला जोड्ने दोमुख पुल, ठेकेदार कम्पनीविरुद्ध कारबाही प्रक्रिया सुरु

  • सनत हमाल

  • मुगु- पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। निर्माण सम्पन्न गर्ने सम्झौता अवधि सकिँदासमेत काम अघि नबढेपछि सम्बन्धित निकायले निर्माण कम्पनीसँग १५ दिनभित्र स्पष्टिकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो।

    जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुले सार्वजनिक सूचनामार्फत निर्माण कम्पनीलाई प्रमाणसहित चित्तबुझ्दो स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र सन्तोषजनक जवाफ नआए ठेक्का सम्झौता तथा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ।

    दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती, अनियमितता तथा जिम्मेवार निकायको लापरबाहीविरुद्ध मुगुका युवाहरूले सञ्चालन गरिरहेको ‘भ्रष्टाचारविरुद्ध जरा अभियान’ ले निरन्तर खबरदारी गर्दै आएको थियो। अभियानकर्ताको दबाब, सञ्चारमाध्यमको निरन्तर समाचार सम्प्रेषण तथा बढ्दो जनचासोपछि सम्बन्धित निकाय कारबाही प्रक्रियातर्फ अघि बढेको हो।

    अभियानका संयोजक आशिष देवकोटाले दोमुख पुल निर्माणमा भएको ढिलासुस्तीबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको अभियानको निरन्तर दबाबपछि जिल्ला पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको बताए।

    श्रीमृत सञ्जीविनी सेवा प्रालि, हेटौंडाले २०७८ मंसिर १४ गते १५ करोड ९३ लाख रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का प्राप्त गरेको थियो। सम्झौताअनुसार २०८३ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म पुलको भौतिक प्रगति शून्य रहेको जिल्ला पूर्वाधार विकास कार्यालय, मुगुका प्रमुख कृष्ण चापागाईंले जानकारी दिए।

    यसैबीच, असार १० गते सम्पन्न सोरु गाउँपालिकाको गाउँसभाले दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवतजावत सहज बनाउन बेलीब्रिज निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ।

    दोमुख पुल निर्माणमा भएको लामो ढिलाइका कारण मुगु र हुम्लाका हजारौँ स्थानीय शिक्षा, स्वास्थ्य, व्यापार, आपत्कालीन सेवा तथा दैनिक आवतजावतमा वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। साथै, कर्णाली करिडोर हुँदै रारा पुग्ने छोटो मार्ग प्रयोग गर्ने स्वदेशी तथा विदेशी पर्यटकसमेत प्रभावित भएको स्थानीयहरूको गुनासो छ।

    यसैबीच, मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी, नागरिक अगुवा रूपबहादुर मल्ल, प्रसाशकीय अधिकृत तीर्थराज शाही, पत्रकार तथा स्थानीय सरोकारवालाले दोमुख पुलको संयुक्त स्थलगत अनुगमन समेत गरेका छन्। अनुगमनका क्रममा आयोजना स्थलमा कुनै पनि कार्य अगाडी नबडेकाले अनुगमन टोलीले निर्माण कम्पनीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन। साथै सो आयोजना स्थलमा तत्काल बैकल्पिक पुलका रुपमा बेलिबृज निर्माण गरिदिन जोडदार माग गरेका छन।

    अभियानका संयोजक देवकोटाले ‘भ्रष्टाचारविरुद्ध जरा अभियान’ कुनै एक पुल वा एउटै घटनामा सीमित नरहेको स्पष्ट पार्दै कर्णालीमा मौलाएको भ्रष्टाचार, अनियमितता, नीतिगत विकृति, विकास निर्माणमा हुने ढिलासुस्ती तथा सार्वजनिक स्रोत–साधनको दुरुपयोगविरुद्ध अभियान निरन्तर जारी रहने बताए।

  • १९ असार २०८३, शुक्रबार ०९:२३ प्रकाशित

  • Nabintech