स्तनपान सम्बन्धि अभिमुखिकरण सम्पन्न

  • नमस्ते कर्णाली

  • कालिकाेट, २० असार ।

    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण) नियन्त्रण ऐन, २०४८ तथा नियमावली, २०५१ सम्बन्धी सरोकारवाला निकायहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
    स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण सम्बन्धी कानुनी व्यवस्था, ऐन तथा नियमावलीका प्रमुख प्रावधान, शिशु तथा आमाको स्वास्थ्यमा स्तनपानको सकारात्मक प्रभाव लगायतका विषयमा जानकारी प्रदान गरिएको छ ।
    सरोकारवाला निकायलाई ऐन र नियमावलीबारे स्पष्ट जानकारी गराई स्तनपान प्रवर्द्धन गर्ने, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री–वितरणलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउनु अभिमुखीकरणको मुख्य उद्देश्य रहेकाे छ ।
    कार्यक्रममा विभिन्न सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले शिशुको स्वास्थ्य संरक्षण तथा सुरक्षित भविष्यका लागि पहिलो रोजाइ आमाको दूध नै हुनुपर्ने विषयमा जोड दिएका थिए। साथै, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागिकाे धारणा छ ।
    स्वास्थ्य सेवा कार्यालय कालिकाेट प्रमुख डा.रत्नबिर सुनारकाे अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी जनक सर्माकाे प्रमुख आथित्यता र खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राज जाेशीकाे विशेष आथित्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रम संचालन सुचना अधिकारी कटक महतले गरेका हुन ।
    सभाध्यक्ष डा. रत्नबिर सुनारले शिशुको स्वस्थ वृद्धि र विकासका लागि आमाको दूधभन्दा उत्तम विकल्प अरू कुनै नरहेको बताए । उनले स्तनपान संरक्षण र प्रवर्द्धनका लागि ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
    प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री–वितरण रोक्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् । उनले ऐनले निर्धारण गरेका व्यवस्थाहरूको पूर्ण पालना गर्दै शिशुको अधिकार र स्वास्थ्य संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
    विशेष अतिथि खाँडाचक्र नगरपालिकाका प्रशासकीय अधिकृत सुरेशराज जोशीले स्थानीय तहले स्तनपान प्रवर्द्धनसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जाेड दिए । आमा र शिशुको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै समुदायस्तरसम्म कानुनी व्यवस्था र स्तनपानको महत्वबारे सूचना प्रवाह गर्न आवश्यक रहेको बताए ।

  • २० असार २०८३, शनिबार १२:२० प्रकाशित

  • Nabintech