बर्दियाको बेतहनीमा सामूहिक कुरिलो खेती

  • नमस्ते कर्णाली

  • बर्दिया ,२ साउन ।
    बर्दियाको ठाकुरबाबा नगरपालिका–९, बेतहनीमा कृषि र पर्यटनलाई एकसाथ जोड्ने उद्देश्यका साथ सामूहिक रूपमा व्यावसायिक कुरिलो खेती सुरु गरिएको छ। पौष्टिक, बहुउपयोगी तथा पर्यटकमाझ लोकप्रिय तरकारीका रूपमा परिचित कुरिलोको खेतीबाट स्थानीय किसानले दीर्घकालीन आम्दानीको अपेक्षा गरेका छन्। बर्दिया जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा सामूहिक कुरिलो खेती सुरु भएपछि यसले स्थानीय कृषि, पर्यटन र रोजगारी प्रवर्द्धनमा नयाँ सम्भावना सिर्जना गरेको छ।
    बेतहनीका २२ घरपरिवार आबद्ध बेतहन कृषक समूहले गत माघदेखि समूह गठन गरी कुरिलो खेतीको तयारी थालेका थिए। समूहले वार्षिक ४० हजार रुपैयाँ भाडा तिर्ने गरी १८ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक खेती सुरु गरेको हो। गत चैतमा रोपिएका बिरुवाबाट आगामी माघ महिनादेखि व्यावसायिक रूपमा उत्पादन लिन सकिने समूहले जनाएको छ।
    समूहका अध्यक्ष रामु थारूका अनुसार कुरिलो एक पटक रोपेपछि धेरै वर्षसम्म उत्पादन लिन सकिने भएकाले यो अन्य तरकारीभन्दा बढी लाभदायी बाली हो। “कुरिलोको बजार राम्रो छ, मूल्य पनि आकर्षक छ। त्यसैले दीर्घकालीन आम्दानीको सम्भावना देखेर हामीले सामूहिक रूपमा यसको खेती सुरु गरेका हौँ,” उहाँले भन्नुभयो।
    उहाँका अनुसार एक वर्षअघिसम्म समूहका अधिकांश सदस्यलाई कुरिलो खेतीबारे खासै जानकारी थिएन। व्यावसायिक खेतीका विकल्पबारे छलफल र अध्ययन गर्दै जाँदा कम लागतमा लामो समयसम्म उत्पादन दिने भएकाले कुरिलो उपयुक्त बालीका रूपमा छनोट गरिएको हो।
    यस वर्ष बिरुवा बलियो बनाउने चरण भएकाले टुसा नटिप्ने निर्णय गरिएको समूहकी सचिव रिता थारूले बताउनुभयो। उहाँका अनुसार पहिलो वर्ष उत्पादनभन्दा पनि बिरुवा स्वस्थ बनाउने लक्ष्य राखिएको छ।
    “यो हाम्रो पहिलो अनुभव हो। प्राविधिकको नियमित सल्लाहअनुसार खेती गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यदि बजारको माग र आम्दानी अपेक्षाअनुसार भयो भने आगामी वर्ष थप जग्गा भाडामा लिएर खेती विस्तार गर्ने योजना छ।”
    कुरिलो खेती गरिएको स्थान बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै रहेको छ। निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी वरपरका क्षेत्रमा होटल, रिसोर्ट तथा होमस्टे सञ्चालनमा छन्। यसअघि ती होटल तथा रिसोर्टमा प्रयोग हुने कुरिलो नेपालका अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था थियो।
    स्थानीय पर्यटन व्यवसायी रामजी थापाका अनुसार अब आफ्नै क्षेत्रमा उत्पादन भएको ताजा कुरिलो सहज रूपमा उपलब्ध हुने भएपछि पर्यटन व्यवसायलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ।
    “अहिलेसम्म पर्यटकले कुरिलो खोजेमा बाहिरबाट महँगो मूल्यमा ल्याउनुपर्ने बाध्यता थियो,” उहाँले भन्नुभयो, “अब स्थानीय उत्पादन उपलब्ध भएपछि गुणस्तरीय र ताजा कुरिलो सजिलै पाइनेछ। आगामी वर्षदेखि होटलको मेनुमा कुरिलोबाट बन्ने विभिन्न परिकार पनि समावेश गर्ने तयारी गरेका छौँ।”
    स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न सकिए किसान र पर्यटन व्यवसायी दुवैलाई लाभ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
    कुरिलो खेतीलाई सफल बनाउन संवर्धन परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ। परियोजनाका कृषि तथा उद्यम विकास संयोजक पप्पु यादवका अनुसार समूहमा आबद्ध २२ घरपरिवारको मुख्य जीविकोपार्जन कृषि नै भएकाले आयआर्जन बढाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।
    “समूहका अधिकांश सदस्य आर्थिक रूपमा कमजोर छन् र कृषि नै उनीहरूको मुख्य पेसा हो,” यादवले भन्नुभयो, “कुरिलो वातावरणमैत्री, कम जोखिमयुक्त र दीर्घकालीन आम्दानी दिने बाली भएकाले यसलाई प्राथमिकता दिएका हौँ।”
    परियोजनाले जग्गा भाडा, जग्गा तयारी, प्राङ्गारिक मल, बिउ खरिद तथा प्राविधिक प्रशिक्षणमा सहयोग गरेको जनाएको छ।
    संवर्धन परियोजनाका पैरवी अधिकृत जयन जोशीका अनुसार किसानलाई उत्पादनमा मात्र होइन, बजार व्यवस्थापन र बजारीकरणमा पनि सहयोग गरिनेछ। “कुरिलोको बजार प्रवर्द्धन, खरिदकर्ता तथा होटल व्यवसायीसँग समन्वय गरी किसानले उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन परियोजनाले निरन्तर सहकार्य गर्नेछ,” उहाँले बताउनुभयो।
    कृषि विज्ञहरूका अनुसार पौष्टिक गुणले भरिपूर्ण कुरिलोमा भिटामिन, फाइबर, फोलिक एसिड तथा विभिन्न खनिज तत्व प्रशस्त पाइन्छ। स्वास्थ्यप्रति सचेत उपभोक्ताको रोजाइमा पर्ने भएकाले पछिल्ला वर्षहरूमा यसको माग निरन्तर बढिरहेको छ।
    बर्दियाको बेतहनीमा सुरु गरिएको यो सामूहिक कुरिलो खेतीले स्थानीय किसानको आम्दानी वृद्धि गर्नुका साथै कृषि र पर्यटनबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। सफल भएमा यो मोडेल जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार हुने विश्वास गरिएको छ, जसले स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन र ग्रामीण अर्थतन्त्रलाई थप गतिशील बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने देखिएको छ।

  • २ श्रावण २०८३, शनिबार १३:१६ प्रकाशित

  • Nabintech