बाँके ,२२ भदौ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिको पहिचानका लागि बाँकेमा उनीहरूका आफन्तको डीएनए परीक्षण गर्न नमुना संकलन सुरु गरिएको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार १६ जना आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालका फरेन्सिक विशेषज्ञ डा. अरविन शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल प्रहरीसँगको सहकार्यमा नमुना संकलन गरिएको हो। संकलित नमुना शनिबार नै परीक्षणका लागि काठमाडौं पठाइएको छ।
बाढीमा बेपत्ता भएका व्यक्तिहरू लामो समयसम्म सम्पर्कमा नआएपछि उनीहरूको सम्भावित शव पहिचान गर्न आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताउनुभयो।
उहाँका अनुसार डीएनए परीक्षणका लागि नमुना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ता व्यक्तिका आफन्त रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बाँकेका २९ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये कोहलपुरका दुई जनाको शव फेला परिसकेको छ भने अझै २७ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा परिवारजनमा बढ्दै गएको अन्योलबीच डीएनए परीक्षणका लागि नमुना संकलन थालिएको हो। यसबाट बाढीमा फेला परेका पहिचानविहीन शवसँग डीएनए मिलान गरी बेपत्ताको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।









