युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसंग जोड्नुपर्छ: मुख्यमन्त्री आचार्य

  • नमस्ते कर्णाली

  • दाङ ,२७ साउन ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनुभएको हो ।
    मुख्यमन्त्री आचार्यले युवालाई रोजगारीका खोजकर्ता मात्र नभई उद्यम र उत्पादनका नेतृत्वकर्ता बनाउने नीति प्रदेश सरकारले अघि सारेको उल्लेख गर्नुभयो । नवप्रवर्तन, स्टार्टअप, कृषि तथा उद्यमशीलताका नवीनतम योजना सञ्चालन गरी युवालाई उत्पादन, रोजगारी र स्वरोजगारसँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
    युवाको उद्यमशीलता प्रवद्र्धनका लागि ब्याज अनुदानलगायतका प्रोत्साहनमूलक कार्यक्रमलाई प्रदेश सरकारले अघि बढाएको र त्यसलाई बजेटमार्फत समेत सम्बोधन गरिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो । ‘राष्ट्र निर्माणका प्रमुख शक्ति र परिवर्तनका संवाहक युवाहरू वर्तमानका हिस्सेदार पनि हुन्,’मुख्यमन्त्री आचार्यले सन्देशमा भन्नुभएको छ,‘युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके मात्रै समृद्ध, आत्मनिर्भर र समुन्नत समाज निर्माण गर्न सकिन्छ ।’
    उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सार्थक सहभागिता अपरिहार्य रहेको बताउनुभयो । युवालाई कुलत, सामाजिक विकृति र विसंगतिबाट टाढा राख्दै ज्ञान, सीप, सिर्जनशीलता, प्रविधि, खेलकुद, उद्यम तथा सामाजिक सेवाका क्षेत्रमा अघि बढाउन राज्य, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ छ ।
    युवाको क्षमता र सम्भावनालाई देश निर्माणमा उपयोग गर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले युवालाई अवसर, सीप र जिम्मेवारी प्रदान गर्दै नेतृत्व विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
    समावेशी, आत्मनिर्भर र समृद्ध लुम्बिनी निर्माणमा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय युवा दिवसले युवामा रहेको क्षमता, सम्भावना र सिर्जनशीलतालाई समाज तथा राष्ट्रको हितमा उपयोग गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

  • २७ श्रावण २०८३, बुधबार १४:०९ प्रकाशित

  • Nabintech