‘समस्याको खाल्डो देख्ने होइन, प्राथमिकता दिने हो’ 

  • नमस्ते कर्णाली

  • सुर्खेत, ५ भदौ ।
    कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कर्णालीलाई समस्याको खाल्डोका रूपमा नभई विकास र समृद्धिको प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बिहीबार कर्णाली प्रदेश स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले कर्णालीलाई सधैँ समस्याग्रस्त क्षेत्रका रूपमा हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको बताए ।
    सोचमा परिवर्तन नआएसम्म कर्णालीको मानक माथि उठ्न नसक्ने उनको भनाइ थियो । ‘तेरो र मेरो’ भन्ने भावना त्यागेर कर्णालीको समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए । पर्याप्त सम्भावना हुँदाहुँदै पनि राज्यको हेपाहा प्रवृत्तिका कारण कर्णाली सधैँ पछाडि पर्नु विडम्बना भएको उनको भनाइ थियो ।
    प्रदेश प्रमुख जोशीले कर्णालीमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको सम्भावना पुष्टि भइसकेको उल्लेख गर्दै यसको उत्खननमा संघीय सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए । दैलेखमा देशलाई समृद्धिको बाटोमा लैजान सक्ने ग्यासको सम्भावना पुष्टि भइसके पनि त्यसको उत्खनन गर्नुको साटो ग्यासको लाइनमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको उनले बताए ।
    ‘कर्णालीमा ग्यास छ, पेट्रोल छ । दैलेखमा देशलाई समृद्धिको बाटोमा लैजाने ग्यास छ भन्ने पुष्टि भइसकेको छ,’ उनले भने, ‘तर हामी त्यसको उत्खनन गर्नुको साटो ग्यासको लाइनमा बसेका छौँ । यसको उत्खननमा राज्य गम्भीर बन्नुपर्छ ।’ उनले पछिल्ला दुई वर्षदेखि थप उत्खननका काम रोकिएको भन्दै तत्काल प्रक्रिया अघि बढाउन संघीय सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
    पछिल्लो समय देखिएको ग्यास अभावबाट पाठ सिकेर कर्णालीमा रहेका प्राकृतिक स्रोतको उपयोगमा राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । कर्णालीलाई जहाँ पनि समस्याको खाल्डो देख्ने प्रवृत्ति र सोचको अन्त्य गर्नुपर्नेमा जोड दिँदै जोशीले प्रदेश सरकारले पनि कर्णालीको मानक माथि उठाउने स्पष्ट मार्ग तय गर्नुपर्ने बताए ।
    प्राकृतिक स्रोत, सम्भावना र अवसरको सदुपयोग गर्दै कर्णालीलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा सरकार र नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताए । त्यस्तै, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले नयाँ सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै ‘चुपचाप सरकार कहाँ छ ?’ भन्दै प्रश्न गरेका छन् । प्रदेश स्थापना दिवसका अवसरमा बोल्दै उनले सरकारको उपस्थिति, जेन–जी आन्दोलनमा सुरक्षा व्यवस्थापन र शासन सञ्चालनको शैलीप्रति प्रश्न उठाएका हुन् ।
    कँडेलले अहिलेको अवस्थामा सरकारको उपस्थिति प्रभावकारी हुनुपर्नेमा चुपचाप बसेर मात्र नहुने बताए । समापन समारोहमा बोल्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीका वास्तविक अवस्थालाई बदल्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । कर्णालीको समृद्धि सबैको साझा प्रयासले मात्रै सम्भव रहेको र यसले संघीयता सबल हुने बताए ।
    यसमा सबैको सहयोगको अपेक्षा गरेको मुख्यमन्त्री शाहीको भनाइ थियो । २३ भदौ २०७२ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहित संघीयताको खाका सार्वजनिक गरेपछिको विवादले अन्ततः आन्दोलनको रूप लिएपछि कान्छो प्रदेशका रूपमा कर्णाली प्रदेश जन्मिएको थियो ।
    प्रदेश प्राप्तिको आन्दोलनमा चार जनाले ज्यानसमेत गुमाएका थिए । आन्दोलन उत्कर्षमा पुगेपछि अन्ततः ४ भदौ २०७२ मा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान, रुकुमपश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएको थियो । प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका क्रममा चार जनाले ज्यान गुमाएका थिए ।

  • ५ भाद्र २०८३, शुक्रबार १६:३९ प्रकाशित

  • Nabintech