सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन लुम्बिनीका मुख्यमन्त्री आचार्यको आग्रह

  • नमस्ते कर्णाली

  • दाङ ,१२ भदौ।

    लुम्बिनी प्रदेशका मुख्मन्त्री चेतनारायण आचार्यले चाडपर्वहरू संस्कृति र परम्परा मात्र नभई पर्यटन प्रवर्धन तथा स्थानीय अर्थतन्त्रको विकासका मुख्य आधार भएको बताउनुभएको छ । जनै पूर्णिमाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समृद्धिको आधारसँग जोडेर पर्यटन र स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभएको हो । मुख्यमन्त्री आचार्यले चाडपर्वका माध्यमबाट रोजगारीका अवसरहरू सिर्जना गर्दै समृद्ध प्रदेश निर्माणको अभियानलाई गति दिन सकिने विश्वास व्यक्त गर्नुभयो ।
    शुभकामना सन्देशका क्रममा उहाँले हालै रसुवामा आएको बाढी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । साथै, सम्पर्कविहीन तथा प्रभावित नागरिकहरूको खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन उहाँले आग्रह गर्नुभएको छ ।
    अविरल वर्षा र विपद्को जोखिमलाई ध्यानमा राख्दै मुख्यमन्त्री आचार्यले चाडपर्वको समयमा यात्रा गर्दा मौसम, सडकको अवस्था र सम्बन्धित निकायले जारी गरेका सूचना तथा पूर्वानुमानको जानकारी लिएर मात्र यात्रा गर्न सबैमा अनुरोध गर्नुभएको हो । सुरक्षित र संयमित रूपमा पर्व मनाउँदै आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन उहाँको आग्रह छ ।
    जनै पूर्णिमाले सबै नेपालीबीच आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावनालाई अझ सुदृढ गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेश निर्माणको अभियानमा थप ऊर्जा प्रदान गरोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

  • १२ भाद्र २०८३, शुक्रबार १०:४१ प्रकाशित

  • Nabintech