एक महिनापछि कर्णाली सरकार पूर्णता, तीन महिला मन्त्रीलाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी

  • नमस्ते कर्णाली

  • सुर्खेत ,१२ भदौ।

    कर्णाली प्रदेश सरकारले गठन भएको एक महिनापछि पूर्णता पाएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै मुख्यमन्त्री मंगलबहादुर शाही नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

    बिहीबार प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। नवनियुक्त मन्त्रीहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जम्कित लामा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्का तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का रहनुभएको छ।

    खड्काद्वय रुकुम पश्चिम तथा लामा हुम्लाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो। यससँगै सात सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिलाको सहभागिता सुनिश्चित भएको छ।

    १२ साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका शाहीले मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा २३ दिनसम्म एक्लै सरकार सञ्चालन गर्नुभएको थियो। ३ भदौमा विश्वासको मत लिनुअघि एमालेसँग सहमति भएपछि एमालेका तीन मन्त्री मन्त्रिपरिषद्मा सहभागी हुनुभएको थियो।

    सहमतिअनुसार एमालेका टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालय, जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय तथा कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो।

    नेकपाभित्र मन्त्री छनोटको विषयमा विवाद चर्किँदा मन्त्रिपरिषद् विस्तार थप लम्बिएको थियो। मुख्यमन्त्री शाहीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालसँग परामर्शपछि अन्ततः तीन जना महिला नेतालाई मन्त्री बनाउने निर्णय गर्नुभएको हो।

    यसअघि ८ भदौमा विन्दमान विष्ट, मिलन खड्का र जम्कित लामालाई मन्त्री नियुक्त गरी शपथ गराउने तयारी गरिएको थियो। प्रदेश प्रमुख कार्यालयलाई समेत जानकारी गराइए पनि अन्तिम समयमा पार्टीभित्रको विवादका कारण शपथ कार्यक्रम रोकिएको थियो।

    पार्टीभित्रको गुटगत विवादसँगै समाजवादी धारलाई पनि सरकारमा समेट्नुपर्ने दबाब बढेपछि विष्ट मन्त्री बन्नबाट बाहिरिनुभएको बताइएको छ। अन्ततः पार्टी एकताको सन्देश दिने उद्देश्यसहित पूर्वसमाजवादी धारकी कल्याणी खड्कालाई मन्त्रिपरिषद्मा समावेश गरिएको हो।

    ### महिलालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी

    कर्णाली प्रदेशको इतिहासमै यसपटक महिलाहरूले कार्यजिम्मेवारी र बजेटका हिसाबले महत्वपूर्ण मानिने मन्त्रालयको नेतृत्व पाएका छन्। विगतका सरकारहरूमा महिलालाई तुलनात्मक रूपमा कम बजेट तथा सीमित कार्यक्षेत्र भएका मन्त्रालयमा जिम्मेवारी दिने अभ्यास रहँदै आएको थियो।

    यसपटक भने नेकपाका तर्फबाट तीनै जना महिला मन्त्री बनेका मात्र होइनन्, भौतिक पूर्वाधार तथा शहरी विकासजस्तो सबैभन्दा बढी पूँजीगत बजेट र व्यापक कार्यजिम्मेवारी रहेको मन्त्रालय समेत महिलाको जिम्मेवारीमा परेको छ। उक्त मन्त्रालयको नेतृत्व मिलन खड्काले सम्हाल्नुभएको छ।

    त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जम्कित लामाले तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कल्याणी खड्काले सम्हाल्नुभएको छ। यससँगै कर्णालीमा महिला नेतृत्वको उपस्थिति थप प्रभावशाली बनेको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

    प्रदेशसभाको पहिलो कार्यकालमा विमला केसी, कृष्णा शाह र सीता नेपाली मन्त्री बन्नुभएको थियो भने दोस्रो कार्यकालमा उर्मिला विश्वकर्मा, गमता विक र विजया बुढाले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो। तर यसपटक भने महिलालाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिइनु कर्णालीको मन्त्रिपरिषद् इतिहासमै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

  • १२ भाद्र २०८३, शुक्रबार १०:५३ प्रकाशित

  • Nabintech