बर्दियामा परिवार नियोजनभन्दा गर्भपतनको सहारा लिने प्रवृत्ति बढ्दो

  • नमस्ते कर्णाली

  • बर्दिया ,१३ भदौ ।
    बर्दियामा अनिच्छित गर्भ रोक्न परिवार नियोजनका अस्थायी साधन नियमित रूपमा प्रयोग गर्नुभन्दा गर्भ रहेपछि सुरक्षित गर्भपतन गराउने प्रवृत्ति बढ्दै गएको पाइएको छ। जिल्लाका कतिपय स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेभन्दा सुरक्षित गर्भपतन सेवा लिन आउने महिलाको सङ्ख्या बढी देखिएको स्वास्थ्यकर्मीले बताएका छन्।
    गुलरिया नगरपालिका–३ स्थित खैरापुर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आर्थिक वर्ष २०८२/८३ मा १११ जना सुत्केरी भएका थिए। सोही अवधिमा १२२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख जनक योगीले बताउनुभयो।
    उहाँका अनुसार लामो समयसम्म दम्पती सँगै नबस्ने, नियमित गर्भनिरोधक साधन प्रयोग नगर्ने तथा आकस्मिक गर्भनिरोधक चक्कीमा निर्भर हुनेजस्ता कारणले अनिच्छित गर्भ रहने र त्यसपछि गर्भपतन गराउने प्रवृत्ति देखिएको छ। “नियमित गर्भनिरोधक साधन प्रयोग गर्नेभन्दा गर्भ रहेपछि गर्भपतन गराउने प्रवृत्ति बढेको देखिन्छ,” उहाँले भन्नुभयो।
    राजापुर नगरपालिका–६ स्थित पानपुर स्वास्थ्य चौकीमा पनि सुत्केरी गराउन आउनेभन्दा गर्भपतन सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या बढी छ। स्वास्थ्य चौकीका प्रमुख डिल्ली खनालका अनुसार मासिक दुईदेखि तीन जना सुत्केरी हुने गरेकामा पाँचदेखि छ जनासम्म गर्भपतनका लागि आउने गरेका छन्।
    उहाँका अनुसार औषधि पसलबाट चिकित्सकको परामर्शबिनै औषधि खरिद गरेर असुरक्षित रूपमा गर्भपतन गराउनेको सङ्ख्या पनि उल्लेख्य छ।
    बर्दिया अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. कृष्ण खनालका अनुसार अस्पतालमा दैनिक पाँचदेखि छ जनासम्म गर्भपतनका लागि आउने गरेका छन्। औषधि पसलबाट आफूखुसी औषधि सेवन गरी समस्या देखिएपछि उपचारका लागि अस्पताल आउने महिलाको सङ्ख्या पनि रहेको उहाँले बताउनुभयो।
    “धेरै पटक गर्भपतन गराउँदा पाठेघरमा समस्या, सङ्क्रमण, रक्तअल्पता तथा भविष्यमा गर्भ रहन कठिनाइ हुन सक्छ,” डा. खनालले भन्नुभयो, “जटिलता बढ्दै गएमा आमाको ज्यानसमेत जोखिममा पर्न सक्छ। तर पनि गर्भपतन गराउने प्रवृत्ति बढ्दो छ।”
    स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा सुरक्षित गर्भपतन सेवा प्रदान गर्न २६ सरकारी र दुई निजी गरी २८ वटा स्वास्थ्य संस्था सूचीकृत छन्। कार्यालयकी सूचना अधिकारी पद्माकुमारी श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा एक हजार ६६३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। यसअघि आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७३५ र २०८०/८१ मा एक हजार ६५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए।
    तर जिल्लाबाहिर गएर, सूचीकृत नभएका स्वास्थ्य संस्थामा वा औषधि पसलबाट औषधि खरिद गरी गर्भपतन गराउनेको यकिन तथ्याङ्क भने स्वास्थ्य कार्यालयसँग छैन।
    सूचना अधिकारी श्रेष्ठले गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग गर्ने प्रवृत्ति महिलाको स्वास्थ्यका दृष्टिले चिन्ताजनक रहेको बताउनुभयो। “आधिकारिक तथ्याङ्क नभए पनि सरकारी स्वास्थ्य संस्थाभन्दा निजी तथा जिल्लाबाहिरका संस्थामा गर्भपतन गराउनेको सङ्ख्या बढी रहेको देखिन्छ,” उहाँले भन्नुभयो।
    स्वास्थ्यकर्मीले अनिच्छित गर्भ रोक्न नियमित रूपमा परिवार नियोजनका साधन प्रयोग गर्न, चिकित्सकको परामर्शबिना गर्भपतनका औषधि सेवन नगर्न तथा सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गरेका छन्।

  • १३ भाद्र २०८३, शनिबार ०८:०१ प्रकाशित

  • Nabintech